प्रचण्ड जब साढे ४ दशकअघि गोरखासँग जोडिएको सम्बन्धको ‘फ्ल्यासब्याक’मा पुगे

-


     नयाँ लिपि    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित


आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

जनयुद्धकालमा प्रचण्डले गोरखामै बसेर थुप्रै योजना बनाए । तर, गोरखासँग प्रचण्डको नाता यतिमै सीमित भने छैन । आजभन्दा साढे ४ दशक (४६ वर्ष) अघि नै गोरखासँग प्रचण्डको सम्बन्ध जोडिएको थियो ।

प्रचण्डले वि.सं. २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए । त्यसबेला देखि नै हो प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको ।

गोरखा पुगेका यी क्रान्तिनायकले ४६ वर्षअघिदेखि गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै भने, ‘४६ वर्षपहिलेको फ्यासब्याक भयो ।’

हिजो सँगै पढाएका दौतरी शिक्षक, किसान दाजुभाइ, दिदीबहिनीसँग प्रचण्डले खुसी साटे । प्रचण्ड मर्निङ वाक गर्दै ४६ वर्षअघि आफू बसेको घरमा पुगे । नुहाउने धारामा पुगे अनि खाना खाने घरसम्म पुगेर आफ्नो युवावयदेखि नै गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै खुसी साटे ।

त्यसो त प्रचण्डका लागि गोरखा मात्र होइन गोरखाका लागि पनि प्रचण्ड प्रिय व्यक्तित्व रहेछन् । आरुटारका किसानका लागि प्रचण्ड प्रिय व्यक्ति रहेछन् । यी क्रान्तिनायकले यसपटक गोरखा रोजेकामा त्यहाँका किसान, शिक्षक, कलाकार र अगुवा व्यक्तित्वहरूले प्रचण्डलाई धन्यवाद दिए ।

प्रचण्डको अगुवाइमा ४६ वर्षअघि नै किसानलाई आधुनिक खेती प्रणाली, कम्पोष्ट मलको निर्माण र प्रयोग तथा चर्पी निर्माणको काम समेत भएको रहेछ ।

आरुटारका किसान, शिक्षक तथा अगुवाहरू ४६ वर्षअघिदेखि नै प्रचण्डको कुशल नेतृत्वदायी क्षमताका बारेमा परिचित रहेछन् । सांस्कृतिक टिम निर्माण, सामाजिक चेता र जागरणमा आजभन्दा साढे ४ दशकअघि प्रचण्डले खेलेको भूमिकाका बारेमा उनीहरूले प्रचण्डलाई सम्झना गराए ।

आफ्नो युवावस्थादेखि नै अन्योन्याश्रित सम्बन्ध गाँसिएको गोरखा पुग्दा प्रचण्ड खुसीले गदगद देखिन्थे । उता, स्थानीयहरू पनि आफ्नो पुरानो साथीलाई स्वागत गर्न पाउँदा निकै खुसी देखिन्थे ।

आरुघाटमा स्थानीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरूको अधिकार स्थापित गर्न सफल भएको बताए । ४६ वर्षअघि आफूले शिक्षण गरेको ठाउँमा आउन पाउँदा प्रचण्डले खुसी व्यक्त गरे ।

चुनावी भेटघाटको क्रममा गोरखा आइ पुग्नुभएका पूर्व प्रधानमन्त्री दाहाल दुइ दिन सम्म गोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिनुभयो ।