दिपक के श्रेष्ठः नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको गण्डकी प्रदेशको नाम तमुवान राख्न अन्तिम घडिसम्म लागिपरे पनि सफल हुन नसकेको बताएका छन् ।
सातै प्रदेशको नामाकरण गर्ने बेला यस भेगको नाम तमुवान राख्न खोज्दा नेकपा एमाले नमानेको उनको भनाई छ । ‘एमालेले तमुवान नाम राख्न मानेन, धेरै मनाउन खोज्यौं तर हाम्रो तागत पुगेन’ अध्यक्ष प्रचण्डले भने ।
प्रदेशको नाम राख्ने बेला माओवादी संसदमा कमजोर भएकाले तागत नपुगेर अन्ततः गण्डकी भन्न परेको भन्दै उनले उपस्थित तमुहरुलाई माओवादीप्रति निरन्तर विश्वास गर्न सुझाए ।
आज पोखरामा आयोजित ‘तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल’को प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्न अपरान्ह पोखरा आइपुगेका प्रचण्डले ्तमुवानसँगै, ताम्सालिङ, मगरात र किराँत प्रदेशको नामकालागि निरन्तर लडाई लडेको प्रष्ट्याए ।
विभेदकारी राज्यको विरुद्ध हतियार उठाएर जनजातिहरुलाई अधिकार दिलाउन माओवादी सफल भएको बताउँदै उनले अहिले फेरि जनजातिको प्रदत्त अधिकारलाई खोस्न कांग्रेस र एमाले विभिन्न विधेयकमार्फत निरंकुश हुन थालेको उनको आरोप छ ।
‘कांग्रेसभन्दा पनि एमाले निकै अधिनायकवादी शैलीमा अघि बढिरहेको छ’ प्रचण्डले थपे ‘जनजातिको मुद्दामा एमाले कहिलै पनि सकारात्मक रहेन ।’ यसकारण पनि माओवादीलाई ०८४ को चुनावमा साथ दिन जनजातिहरु फुटेर हैन जुटेर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

पहिले बलियो रहेको माओवादी मध्यान्तरमा अन्य पार्टीको वैशाखी टेक्दा कमजोर भएको उनको बुझाई छ । ‘हामी सत्तामा पुग्न अरुको बैशाखी टेक्दा अहिले कमजोर भएको सत्य हो’ उनले भने ‘अब माओवादी कसैको वैशाखी टेक्दैन, ८४ मा एक्लै चुनाव लड्छ ।’
८४ मा एमाले र कांग्रेसको संयुक्त प्यानल आएपनि जितेर देखाइदिने भन्दै उनले कार्यकर्ता पंक्तिलाई विश्वासकासाथ पार्टीको सिद्धान्त र हालसम्म गरेका कामको प्रचार गर्न अनुरोध गरे ।
उद्घाटनसत्रमा पार्टीका नेता देवप्रसाद गुरुङ, ओनसरी घर्तिलगायतले मन्तव्य राखेका थिए । भेलामा देशभरका २ सय बढी प्रतिनिधि सहभागी भएको जनाइएको छ ।