पोखरा । पोखराको रंगशाला माघ २२ गतेबाट सुरु हुने २४ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आज (आइतबार) आयोजक सहारा क्लबले पोखरामा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जनाएको हो ।
प्रतियोगिताको जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा ट्रफी र जर्सी सार्वजनिक गरिएको थियो ।
१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन्।
साथै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगितामा प्रिक्वार्टरफाईनलका खेल हेर्न साधारणतर्फ १ सय र भीआईपीतर्फ २ सय रुपैयाँ टिकटदर तोकिएको छ ।
सेमिफाइनलमा साधारणतर्फ दुईसय र भीआईपीतर्फ चारसय रुपैयाँ लाग्नेछ ।
फाइनलका दिन साधारणतर्फ तीनसय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।
प्रतियोगिताबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बालबालिकाका लागि खर्च गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता माघ २२ देखि फागुन ३ गतेसम्म चल्नेछ। यो संस्करणमा मनाङ मर्स्याङदी क्लब भने सहभागी हुने छैन । मनाङ ७ पटकको उपाधि विजेता टोली हो ।
आहा ! रारा पोखरा गोल्डको इतिहासमै पहिलो पटक विशेष नियम लागु गर्ने भएको छ ।
जसमा,पहेलो कार्ड बापत एक हजार,दोहोरो पहेलो कार्ड(रातो कार्ड)बापत दुई हजार र सिधै रातो कार्डको तिन हजार रकम तोकेको आयोजकले जनाएको छ ।







