केसी परिवार र सहारा क्लबबीच नयाँ सम्झौता

-


     नयाँ लिपि    
     कार्तिक २२ गते २०७८ मा प्रकाशित


वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन् । जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ ।

क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने छ । बुधबार क्लबका अध्यक्ष हरिराम गुरुङ र स्व.सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै पहिलो वर्षको १५ लाख रुपैयाँ नगद क्लबलाई केसी परिवारले हस्तान्तरण गरेको छ ।


बार्षिक १५ लाख रुपैयाँ दिने

‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण

क्लबले एकेडेमी सञ्चालनको लागि वर्षेनी देउसी भैलो कार्यक्रम गर्दै आएको छ । वर्षेनी आयोजना हुने आहा रारा गोल्डकपको बचत रकम एकेडेमीलाई खर्चिदैं आएको छ । विभिन्न संघसंस्था तथा विदेशमा बसेका नेपालीहरुले आर्थिक सहयोग जुटाउँदै आएका छन् । विशेष गरी सहारा हङकङ, सहारा युके र सहारा अष्ट्रेलियाबाट आर्थिक सहयोग जुट्दै आएको छ ।

‘सहारा एकेडेमीलाई वार्षिक १५ लाख रुपैयाँ दिनेगरी दशवर्षे सम्झौता गरिएको छ ।’ क्लबका महासचिव रामजीप्रसाद अधिकारीले भने–‘अहिले परिवारबाटै सम्झौता गरिएको छ । निकट भविष्यमा सुर्य प्रेम ट्रष्टसँग सहकार्य गरिने छ ।’ क्लबले पोखरा बसपार्कस्थित आफनै क्लब भनवबाट २०५८ सालदेखि फुटबल एकेडेमी शुरु गरेको थियो । पोखरा–१७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफलमा आफनै एकेडेमी भवन निर्माण गरेर आवासिय छात्रबास शुरु गरेको थियो । एकेडेमीमा अहिले तेस्रो व्याचका १४ जिल्लाका २४ जना बालकहरु एकेडेमीमा छन् ।
केसीको ज्येष्ठ सुपुत्र प्रकाश केसीले सहारा क्लबसँगको सहकार्य मार्फत सामाजिक सेवामा समर्पित हुन पाएकोमा आभार व्यक्त गरे । उनले बुवा भद्र र शालिन व्यक्ति भएको उल्लेख गर्दै अतिमिलनसार भएको बताए ।

सहारा क्लबसँग केसी परिवारले दुई दशकसँग सहकार्य गर्दै आएको छ । व्यावसायिक प्रतिष्ठानको रुपमा हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले क्लबसँग फुटबल विकासको लागि दुईदशकदेखि सहकार्य गर्दै आएको हो । मुख्य प्रायोजकको भूमिका खेल्दै आएको छ । पहिलो दशवर्ष हिमश्री फुड्सले आहा चाउचाउको नामबाट मुख्य प्रायोजन गर्यो । क्लबले आहा गोल्डकप सञ्चालन गरेको थियो । दशवर्षपछि सम्झौता नविकरण गरियो । क्लबले आहा रारा गोल्डकपबाट प्रतियोगिता सञ्चालन गर्यो ।

फुटबल प्रतियोगिताको लागि सम्झौताको अन्तिम वर्ष हो । क्लबले यही माघमा २० औं सस्करणको आहा रारा गोल्डकप आयोजना गर्ने तयारी गरेको छ । ‘२० औं आहा रारा गोल्डकप आगामी माघ ६ देखि १५ सम्म आयोजना गर्नेगरी समयतालिका मागेका छौं’ क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले भने–‘त्यही समय तालिका अनुसार हामीले आन्तरिक गृहकार्य शुरु गरेका छौं ।’ सम्झौता कार्यक्रममा केसी परिवार तथा क्लबका पदाधिकारी एवं खेलकुदसँग आवद्ध विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।