अन्ततः फिर्केको ‘खोलाघर’ हटाउन आफै कस्सियो पोखरा महानगर

पोखरा — पोखरा महानगरपालिकाले फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्रभित्र रहेका बाँकी संरचना हटाउने कार्य सुरु गरेको छ।

महानगरपालिकाले यसअघि अन्तिम सूचना जारी गर्दै सम्बन्धित व्यक्तिलाई खोलाघर खाली गर्न भनेपनि बाँकी रहेका संरचना हटाउन अन्ततः आजदेखि काम सुरु गरेको छ ।

फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्रभित्र निर्माण भएका संरचना हटाउने विषयमा महानगरपालिकाले लामो कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्दै अदालतको आदेशसमेत पर्खेर संरचना हटाउने प्रक्रिया अघि बढाएको थियो।

महानगरपालिकाले केही संरचना यसअघि नै हटाएपछि सम्बन्धित घरधनी तथा संघ–संस्थाले आफ्नै तर्फबाट संरचना हटाउन समय माग गरेका थिए। त्यसपछि निश्चित समयसीमा तोकेर आफैं संरचना हटाउने अवसर दिइएको थियो।

तोकिएको समयसीमा, थप गरिएको समय तथा भोटेकोशीमा आएको बाढी र वर्षायामलाई समेत मध्यनजर गर्दै अतिरिक्त समय उपलब्ध गराउँदा पनि कतिपय संरचना नहटाइएपछि महानगरपालिकाले माइकिङमार्फत अन्तिम सूचना जारी गरेको थियो।

अन्तिम सूचनापछि पनि बाँकी रहेका संरचना महानगरपालिकाले आफैं हटाउन थालेको हो।

महानगरपालिकाका अनुसार फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण, बाढी तथा डुबानको जोखिम न्यूनीकरण र सुरक्षित तथा व्यवस्थित पोखरा निर्माणका लागि संरचना हटाउने अभियान अघि बढाइएको हो।

महानगरपालिकाले अभियानका क्रममा छरछिमेकी, स्थानीय बासिन्दा तथा सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग, समन्वय र समझदारीको अपेक्षा गरेको छ।

Scroll to Top