‘यो अन्तिम सूचना’ भन्दै फिर्के खोलाघरका संरचना हटाउन महानगरले दियो ७ दिनको समय

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका बाँकी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई अन्तिम पटक ७ दिनको समय दिएको छ।

पोखराको अधेरीकुनादेखि फेवातालसम्म करिब ८ किलोमिटर लामो फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका अधिकांश संरचना हटाइसकिएको महानगरपालिकाले जनाएको छ।

यसअघि महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार आफैं संरचना हटाउने प्रतिबद्धता जनाएका व्यक्ति तथा संस्थालाई संरचना हटाउन समय दिइएको थियो।

तर, गत भदौ १० गते भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्ति तथा वर्षायामका कारण संरचना हटाउने कार्यमा केही ढिलाइ भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले यसअघि प्रकाशित सूचना बमोजिम हालसम्म संरचना नहटाएका व्यक्ति वा संस्थालाई अबको ७ दिनभित्र अनिवार्य रूपमा संरचना हटाउन अन्तिम पटकका लागि सोमबार साँझ सूचना जारी गरेको हो।

तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिकाले प्रचलित कानूनबमोजिम त्यस्ता संरचना आफैं हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गर्ने जनाएको छ।

महानगरपालिकाले फिर्केखोलाको खोलाघर खाली गर्ने अभियानमा सम्बन्धित सबैलाई सहयोग गर्नसमेत आग्रह गरेको छ।

Scroll to Top