फिर्के ‘खोलाघर’का संरचना हटाउन ३ दिने अल्टिमेटम, १ सय ६० संरचनाको अनुमान

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनेका सम्पूर्ण संरचना हटाउन अन्तिम चेतावनी दिएको छ।

महानगरले सूचना जारी गर्दै आगामी जेठ ९ गतेभित्र खोलाको सिमानाभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरु व्यक्ति वा संस्था स्वयंले हटाउन निर्देशन दिएको हो।

महानगरका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र ठूलो संख्यामा भौतिक संरचनाहरु निर्माण भएका छन्।

यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नाप जाँच गरी पोल गाडिएको र सोही पोलभित्र पर्ने संरचनाहरु हटाउन भनिएको छ।

महानगरले यसअघि विसं २०८० कार्तिक १० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो।

तर, अदालतले महानगरको कदममा रोक लगाउनु पर्ने गरि उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने भनी आदेश दिएपछि महानगरलाई संरचना हटाउने बाटो खुलेको हो।

अदालतको आदेश र यसअघि विसं २०८३ वैशाख ४ गते जारी भएको सूचनालाई समेत आधार मान्दै महानगरले जेठ ९ गतेको समयसीमा तोकेको छ।

यसअघि महानगरद्वारा गठित अध्ययन समितिको प्रतिवेदनअनुसार फिर्केखोलाको खोलाघरभित्र १६० वटा अस्थायी/स्थायी तथा व्यक्तिगत/संस्थागत संरचना खडा गरिएका छन् ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘उल्लेखित मितिभित्र संरचनाहरु नहटाएमा महानगरपालिका आफैंले हटाउने छ।’ त्यसरी महानगरले संरचना हटाउँदा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने ब्यहोरा सूचनामा उल्लेख छ।

Scroll to Top