वर्षापछि फिर्केको ‘खोलाघर’ खाली गरिने छ – पोखरा महानगर

पोखराको अधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोलाको खोला घरभित्र बनेका संरचनाहरू हटाउने कार्य निरन्तर रूपमा अगाडि बढिरहेको पोखरा महानगरपालिकाले जनाएको छ ।

ठुला संरचनाहरूका हकमा पोखरा महानगरपालिकाले सांकेतिक रूपमा हटाउने कार्यको सुरुआत गरेपछि सम्बन्धित घरधनी तथा संस्थाहरूले आफै हटाउने मौखिक प्रतिबद्धता गरेका थिए ।

तर निश्चित समय दिँदा पनि हालसम्म संरचना नहटाएको पाइएकाले कबुल गरेबमोजिमका संरचना हटाउन महानगरले अनुरोध गरेको छ ।

हाल वर्षायामका कारण संरचना हटाउने कार्यमा प्रयोग हुने ठुला उपकरणहरू परिचालन गर्न व्यावहारिक कठिनाइ भएकाले कार्यान्वयनमा असहजता देखिएको महानगरले जनाएको छ ।

वर्षायाम समाप्त हुनासाथ सम्बन्धित पक्षले संरचना नहटाएमा प्रचलित कानुनबमोजिम पोखरा महानगरपालिकाले ती संरचनाहरू पूर्ण रूपमा हटाउने बताएको छ । ‘यस सम्बन्धमा कुनै प्रकारको भ्रम वा द्विविधा नराख्न सम्पूर्ण सरोकारवालामा हार्दिक अनुरोध गर्दछौँ’ महानगरले भनेको छ ।

फिर्केखोलाको संरक्षण, विकास र संवर्द्धन गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माणको अभियानमा हातेमालो गर्न महानगरपालिकाले आमनगरवासीलाई आग्रह गरेको छ ।

Scroll to Top