पोखरामा ‘चेक बाउन्स’ कसुरका ४ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले अदालतबाट विभिन्न कसुरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाही तथा जरिवाना असुलका लागि कास्की जिल्ला अदालतमा बुझाइएको हो।

पक्राउ परेकामध्ये चेक अनादर कसुरका चार जना र चोरीसम्बन्धी कसुरका एक जना रहेका छन्।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट अदालतले तोकेको ७ हजार ७ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको छ।

Scroll to Top