प्रोटिन अधिकार र सचेतनाका लागि पोखरामा हुने दौडमा ४ हजार १ सय ६ जना धावकले प्रतिस्पर्धा गर्ने भएको छन् ।
प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यले असोज ३ गते शनिबार हुने पाँचौँ संस्करणको प्रोटिन अधिकारको लागि हाफ म्याराथन २०२६मा आठ विधामा ति खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाले जानकारी दिए ।
यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलको प्रमुख प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने सो दौड लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने उनले उल्लेख गरे ।
बसुन्धरा पार्कबाट सुरु भएको दौड हलनचोक, सेदी, पामे हुँदै लौरुकसम्म पुगेर फेरी बसुन्धरा पार्कमै आएर समापन हुने कार्यक्रम छ ।
प्रतियोगितामा हाफ म्याराथन पुरुषतर्फ २१ किलोमिटरमा ४०६ र महिलातर्फ २१ किलोमिटरमा ६४ जना सहभागी हुनेछन् ।
खुला पुरुषतर्फ १० किलोमिटरमा ९८८, खुला महिलातर्फ ५ किलोमिटरमा ३९७, कक्षा १२ सम्मका युवा पुरुषतर्फ ५ किलोमिटरमा १ हजार ६५८ र महिलातर्फ ३ किलोमिटरमा ५५३ जना सहभागी हुनेछन् ।
ह्विलचेयर पुरुषतर्फ ३ किलोमिटरमा २४ र महिलातर्फ ३ किलोमिटरमा १६ जनाको सहभागिता रहने अध्यक्ष सापकोटाले बताए ।
उनले प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी र इंग्ल्याण्ड गरी १० देशका खेलाडीले प्रतिस्पर्धा गर्ने जनाए ।
‘खेलकुदको माध्यमबाट मानव शरीरमा प्रोटिनको आवश्यकता, सन्तुलित आहार, र स्वस्थ जीवनशैलीबारे सचेतना फैलाइने छ,’ अध्यक्ष सापकोटाले भने, ‘प्रतियोगिताबाट पोखराको स्वास्थ्य, पर्यटन, र कृषिलाई एकसाथ जोड्ने लक्ष्य समेत राखिएको छ ।’
उनले यस वर्षको दौडमा अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता सुलभ र गुणस्तरीय प्रोटिनका स्रोतबारे सचेतना अभिवृद्धि गर्नुका साथै शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गरिने बताए ।
कार्यक्रम संयोजक समेश राजभण्डारीले नयाँ तथा उदीयमान धावकलाई अवसर प्रदान गर्दै पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य पनि रहेको जनाए ।
आठ विधामा प्रतिस्पर्धा हुने दौडमा प्रत्येक विधाका उत्कृष्ट पाँच धावकलाई नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी १६ लाख रुपैयाँ रहेको संयोजक राजभण्डारीले बताए ।
प्रतियोगिता अन्तर्गत मुख्य आकर्षणको रूपमा रहेको २१ किलोमिटर हाफ म्याराथनका पुरुष र महिला दुवैतर्फका विजेताहरूले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।







