कास्की प्रहरीको प्रगति विवरणः २ सय बढी मुद्दा दर्ता, ६५ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै विभिन्न विधाका २०६ वटा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ ।

जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ६५ जना फरार प्रतिवादी र ५ जना विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा सबैभन्दा धेरै ६६ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । अभद्र व्यवहारका ४०, ठगी तथा आपराधिक विश्वासघातका २० र लागुऔषधका १४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस अवधिमा लागुऔषध कारोबारमा संलग्न ठुलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ । रौतहट घर भई पोखरा-२९ तालचोक बस्ने २२ वर्षकी रुबिना खातुनलाई ३१ ग्राम भन्दा बढी खैरो हिरोइन र ११ लाख ४८ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको छ ।

‘विशेष सूचनाको आधारमा उनको कोठा खानतलासी गर्दा प्लाष्टिकको कचौरामा लुकाइराखेको अवस्थामा लागुऔषध र ठुलो रकम फेला परेको हो,’ प्रहरीले भनेको छ । उनलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यस्तै नेदरल्याण्ड्सबाट चिठ्ठी भित्र लुकाएर पठाइएको १००० थान एलएसडी स्टिकर सहित भारतीय नागरिक आयुष अजित पक्राउ परेका छन् । २८ वर्षका अजितले पोखरा-६ लेकसाइडको हुलाक कार्यालयमा आएको शंकास्पद चिठ्ठी बुझ्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट ७ लाख ४० हजार नेपाली रुपैयाँ समेत बरामद भएको छ । प्रहरीले पोखरा-५ पस्याङबाट २९ वर्षका मनिष शाही ठकुरीलाई ३८ हजार ३४० चक्की टापेन्टाडोल र १ लाख ८९ हजार ५०० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीको सक्रियतामा ६५ जना फरार प्रतिवादीहरु पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३४ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

उनीहरुबाट १४ वर्ष ४ महिना २९ दिन कैद सजाय र ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो । फरार प्रतिवादीहरुमा चेक अनादरका २३, चोरीका १८ र विभिन्न सार्वजनिक अपराधका ६ जना रहेका छन् ।

फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिई अदालतमा पेश गरिएको प्रहरीले बताएको छ ।

विदेशी नागरिकको हकमा युगाण्डाका ५ जना नागरिक पक्राउ परेका छन् । युगाण्डाका ४७ वर्षका सामिम बासाबे र ५० वर्षका टोना मारी अहमिम्बिसिब्वेले एक नेपालीको ७ हजार रुपैयाँ र परिचय पत्र चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

यस्तै अन्य ३ जना युगाण्डाली नागरिकलाई मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात र अभद्र व्यवहार गरेको आरोपमा लेकसाइडबाट नियन्त्रणमा लिइएको छ । उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

सुनका गरगहना चोरी गर्ने गिरोहलाई पनि प्रहरीले कानुनको दायरामा ल्याएको छ । पोखरा-१८ खपौदीमा घर फोरेर ५ तोला सुन र विभिन्न सामान चोरी गर्ने २७ वर्षका साजन सुनार र चोरीको सुन खरिद गर्ने ५६ वर्षका नारायण लाल विक पक्राउ परेका छन् ।

उनीहरुबाट १८ लाख १७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । अर्को एक घटनामा संलग्न सन्तोष लामिछाने, राजेन्द्र परियार, रोसन परियार, विशाल नेपाली र टिकाराम विश्वकर्मालाई ३ लाख ९६ हजार रुपैयाँ र सुन चोरीको आरोपमा कारवाही गरिएको छ ।

अदालतको आदेश अनुसार उनीहरुमध्ये केहीलाई कारागार चलान गरिएको छ भने केही धरौटीमा छुटेका छन् ।

Scroll to Top