हाजिर भए प्रशासकीय अधिकृत पौडेल, मेयरले गरे स्वागत

पोखरा महानगरपालिकाले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वागत गरेको छ । महानगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले पौडेललाई स्वागत गरे ।

स्वागत कार्यक्रममा दलका नेताहरु दिवसमान प्रधानांग र राधिका कुमारी शाही योगी, विभिन्न वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महाशाखा तथा शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा नगर प्रमुख आचार्यले महानगरपालिकाको प्रशासनिक कार्यलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण हुनेु धारणा व्यक्त गरे । उनले महानगरको समग्र विकासका लागि प्रशासनिक नेतृत्वको सक्रियता आवश्यक रहेकोमा जोड दिए ।

यस्तै, उपप्रमुख गुरुङले महानगरको सेवा प्रवाहलाई चुस्त बनाउँदै विकास निर्माण, सुशासन तथा नागरिकका अपेक्षालाई सम्बोधन गर्न जनप्रतिनिधि र कर्मचारीबिचको समन्वयलाई थप मजबुत बनाउनुपर्ने बताएकी छिन् ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले महानगरपालिकाको प्रशासनिक नेतृत्वका रुपमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबिच सहकार्य गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ‘महानगरका नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कर्मचारी संयन्त्रलाई परिचालन गर्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिने’ बताए ।

Scroll to Top