स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्मत–सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा ‘बायोमेडिकल इकाइ’ गठन गरिने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय, सुरक्षित, मितव्ययी र दिगो व्यवस्थापन सुनिश्चित गर्न ‘बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका, २०८१’ (वा २०८२) जारी गरेको छ । सोही निर्देशिका बमोजिम यी इकाइहरू गठन हुन लागेका हुन् ।
स्वास्थ्य सेवा विभागले गत साउन २० गते आफ्नो वेबसाइटमार्फत यो निर्देशिका सार्वजनिक गरेको हो ।
बायोमेडिकल उपकरणअन्तर्गत एक्स–रे मेसिन, अल्ट्रासाउन्ड, भेन्टिलेटर, मोनिटर र प्रयोगशाला परीक्षणका उपकरणहरू पर्दछन् । यी उपकरणहरू विभिन्न रोगको परीक्षण, निदान, उपचार तथा सेवाग्राहीको स्वास्थ्य अवस्था अनुगमनका लागि प्रयोग गरिन्छन् ।
निर्देशिका अनुसार बायोमेडिकल उपकरणहरूको नियमित मर्मत सम्भार सुनिश्चित गर्न स्वास्थ्य संस्था तथा संघ र प्रदेशस्तरका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा बायोमेडिकल इकाइ गठन गर्नुपर्नेछ ।
ती इकाइले उपकरण खरिद, जडान, सञ्चालन, मर्मत, मौज्दात विवरण, डिकमिसनिङ तथा विसर्जनका लागि समन्वय गर्नेछन् । साथै, इकाइले नियमित र आकस्मिक मर्मत, क्यालिब्रेसन र गुणस्तर सुनिश्चितता जस्ता कार्यहरू सञ्चालन गर्नेछन् ।
विद्यमान कानुनबमोजिम उपकरण खरिद, लागत विश्लेषण र वारेन्टी व्यवस्थापनमा सहयोग गर्नुका साथै स्वास्थ्यकर्मी एवं प्रयोगकर्ताहरूलाई उपकरणको उपयोग, मर्मत र सुरक्षासम्बन्धी तालिमको व्यवस्था समेत गर्ने जिम्मेवारी यी इकाइलाई दिइएको छ ।
निर्देशिकामा आवश्यकताको मूल्याङ्कन गरी नयाँ प्रविधि प्रयोगमा ल्याउने, जोखिम नियन्त्रण र सुरक्षा मापदण्ड पालना गर्ने तथा उपकरणको कार्यसम्पादन र प्रभावकारिताको नियमित प्रतिवेदन गर्ने उल्लेख छ ।
निर्देशिकाले बायोमेडिकल उपकरण व्यवस्थापनलाई खरिद प्रक्रियामा मात्र सीमित नराखी यसको पूर्ण ‘जीवनचक्र’ (लाइफ साइकल)लाई समेटेको छ । यसअन्तर्गत योजना तथा आवश्यकता मूल्याङ्कन, वित्तीय व्यवस्थापन, प्रविधि छनोट, खरिद, ढुवानी, जडान, सञ्चालन, जनशक्ति तालिम, मर्मत सम्भार, स्थानान्तरण र सुरक्षित विसर्जनसम्मका चरणहरूलाई अनिवार्य गरिएको छ ।
यसले संघ, प्रदेश र स्थानीय तहमातहत स्वास्थ्य संस्था एवं निकायहरूको जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गरेको छ । जसअनुसार स्वास्थ्य सेवा विभागले केन्द्रीय नीति, बजेट समन्वय र राष्ट्रिय अभिलेख व्यवस्थापन गर्नेछ भने प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रहरूले आपूर्ति र इन्भेन्टरीको जिम्मेवारी सम्हाल्नेछन् ।
स्थानीय तह र स्वास्थ्य संस्थाहरूले भने उपकरणको प्रत्यक्ष सञ्चालन, मर्मत सम्भार र प्रयोगकर्ता प्रशिक्षणको पूर्ण जिम्मेवारी बहन गर्नेछन् ।







