कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिवन रामघाटस्थित सेतीनदीको भिरबाट खसेका एक युवकको प्रहरीले उद्धार गरेको छ ।
आज बिहान अन्दाजी ६ बजेको समयमा भिरबाट करिब २५–३० मिटर तल खसेर अड्किएको अवस्थामा ती युवकको उद्धार गरिएको हो ।
भिरमा मानिस अड्किएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र सीआरभी पृथ्वीचोकबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको छ ।
उद्धार गरिएका व्यक्ति रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर ९ घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक बस्ने २८ वर्षका अनिल परियार रहेको खुलेको छ ।
सुरुमा ती व्यक्ति अन्दाजी ३० वर्षको रहेको अनुमान गरिएको थियो ।
अस्पतालमा उपचारपश्चात् अहिले उनी बोल्न सक्ने भएका छन् । उनको स्वास्थ्य अवस्था अहिले मध्यम रहेको प्रहरीले जनाए ।







