नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू दुबई निर्यात सुरू भएको छ ।
त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो ।
पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबईमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।
दुबईमा रहेका बिक्रेताले परीक्षणको रुपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।
‘सुरूमा लगेर त्यहाँ रहेका बिक्रेतालाई एक–एक कार्टुन दिन्छौँ । त्यसपछि अझै राम्रो परिमाणमा माग गर्छौँ,’ उनले सुनाए ।
नेपाली उत्पादनको प्रचारका लागि पहिलोपटक जहाजमा पठाइए पनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी छ ।
दुबईबाहेक मध्यपूर्वका अन्य देशमा पनि डीडीसी घ्यूसहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने उनको भनाइ छ ।







