पोखरामा चिनियाँ नागरिकलाई कुटपिट र लुटपाट गर्ने चार युवक पक्राउ

पोखरामा दुई जना चिनियाँ नागरिकलाई कुटपिट तथा लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले दिएको जानकारी अनुसार चैत १९ गते दिउँसो २:३० बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर १६ जोगीमणीमा घटना भएको थियो ।

त्यहाँ दुई जना चिनियाँ नागरिकहरूलाई अपरिचित व्यक्तिहरूले कुटपिट तथा लुटपाट गरी फरार भएको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सूचना प्राप्त भए लगत्तै खटिएको प्रहरी टोलीले चैत २१ गते दिउँसो १२ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्यांगबाट अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २३ पामे बस्ने २१ वर्षका रोशन सुनार रहेका छन् ।

त्यसैगरी धादिङ घर भई हाल पोखरा वडा – ५ फिर्के बस्ने १८ वर्षका आरुस तामाङ, कास्कीको अन्नपूर्ण गाउँपालिका – १० घर भई हाल पोखरा वडा – ५ प्रस्यांग बस्ने १८ वर्षका अनिश परियार र पोखरा – २१ घर भई हाल वडा ५ प्रस्यांग बस्ने १८ वर्षका अर्पन सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Scroll to Top