पोखरा उद्योग वाणिज्य संघको आगामी ३६औँ महाधिवेशनमा वाणिज्य उपाध्यक्ष पदका लागि व्यवसायी मनोजकुमार श्रेष्ठले उम्मेद्वारी प्रस्तुत गरेका छन्।
लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय श्रेष्ठले आफ्नो व्यावसायिक अनुभव र संघमा गरेको योगदानलाई आधार बनाउँदै वाणिज्य उपाध्यक्षका लागि उम्मेदवारी दिएका हुन्।
पोखराको प्रभावशाली संस्था अधिकृत बिक्रेता संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठ विगत २७ वर्षदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन्। उनी मानस मार्केटिङ, मानस ट्रेडिङ र श्री सत्य साई ट्रेडर्समा आबद्ध छन्।
ट्रेडिङ व्यवसायमा संलग्न श्रेष्ठले पेय पदार्थ, मदिराजन्य तथा अन्य वितरणसम्बन्धी व्यवसायसँगै विभिन्न उत्पादनको वितरण गर्दै आएका छन्।
पोखरा उद्योग वाणिज्य संघसँग श्रेष्ठको करिब ६ वर्ष लामो संस्थागत सम्बन्ध रहेको छ। पहिलो कार्यकाल मनोनित हुँदै संघको कार्यसमितिमा प्रवेश गरेका उनी दोस्रो कार्यकालमा निर्वाचित भएर कार्यसमिति सदस्य बने।
तेस्रो कार्यकालमा समेत निर्वाचित भएपछि उनले संघको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै दुई वर्ष काम गर्ने अवसर पाए।
संघको कार्यसमितिमा रहेर प्राप्त गरेको अनुभवलाई अब व्यवसायीको हितमा थप प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यसहित आफू वाणिज्य उपाध्यक्ष पदमा अघि बढेको श्रेष्ठले बताएका छन्।
व्यवसायीका समस्या, बजारका चुनौती र निजी क्षेत्रका आवश्यकतालाई संस्थागत रूपमा सम्बोधन गर्दै सबल व्यवसाय र समृद्ध पोखरा निर्माणमा योगदान पुर्याउने उनको प्रतिबद्धता छ।
आगामी भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशन तथा ७२औँ साधारणसभामा आफूलाई वाणिज्य उपाध्यक्ष पदमा निर्वाचित गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीको साथ, सहयोग, विश्वास र अमूल्य मतको अपेक्षा गरेको श्रेष्ठले बताए।
‘सबल व्यवसाय, समृद्ध पोखरा’लाई साझा लक्ष्यका रूपमा अघि सारेका श्रेष्ठले व्यवसायीबीचको एकता, सहकार्य र संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउँदै पोखराको आर्थिक विकासमा निजी क्षेत्रको योगदान बढाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
लामो व्यावसायिक अनुभवसँगै पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा विभिन्न जिम्मेवारी सम्हालिसकेका श्रेष्ठको उम्मेद्वारीलाई व्यवसायिक क्षेत्रमा अनुभव र संस्थागत निरन्तरताको संयोजनका रूपमा हेरिएको छ।
उनले आफूलाई विश्वास गरी अवसर दिए व्यवसायीको हित, संघको संस्थागत सुदृढीकरण र समृद्ध पोखराका लागि इमानदार रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







