पोखरा । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को १५औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा गण्डकी प्रदेशबाट केन्द्रीय नेतृत्वका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । उम्मेदवारी दर्ताको समय अझै बाँकी रहेकाले हालसम्मको अवस्था हेर्दा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवै पदमा दुईदेखि तीन जनासम्मको उम्मेदवारी पर्ने सम्भावना देखिएको छ ।
गण्डकी प्रदेशबाट केन्द्रीय अध्यक्षमा टंकप्रसाद अधिकारीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा यमनाथ पौडेल, सचिवमा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे र महिला केन्द्रीय सदस्यमा कमला भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले अन्य आंकाक्षी पनि थपिन सक्ने अवस्था छ ।
अध्यक्ष पदका प्रत्याशी अधिकारीका अनुसार हालसम्म सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको भए पनि निर्वाचन हुने सम्भावना पनि उत्तिकै छ । उनका अनुसार कोशी प्रदेशबाट एक जना र गण्डकी प्रदेशबाट आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । बागमती प्रदेशबाट समेत उम्मेदवारी दिने वा नदिने विषयमा छलफल भइरहेको छ । उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले अन्तिम अवस्था भने दर्तापछि मात्रै स्पष्ट हुने उनले बताए ।
अधिकारीले आगामी नेतृत्वले औषधि व्यवसायका तीनवटै क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन् । उनका अनुसार नेपालमा करिब ३० हजार औषधि व्यवसायी रहेका छन् । आयात तथा विदेशी कम्पनीबाट औषधि ल्याएर वितरण गर्ने सोल डिस्ट्रिब्युटर, थोक व्यवसायी र खुद्रा व्यवसायी गरी तीनवटा क्षेत्रलाई एकताबद्ध गर्दै संगठनलाई अघि बढाउनु आवश्यक रहेको उनको भनाइ छ ।
देशभर ६६ जिल्लामा संघको गठन भइसके पनि करिब २० देखि २५ वटा जिल्ला शाखा मात्र व्यवस्थित रहेको उल्लेख गर्दै अधिकारीले बाँकी जिल्लामा पनि सङ्गठन विस्तार र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए । साथै, व्यवसायसँग सम्बन्धित विषयमा स्वास्थ्य मन्त्रालयसहित तीनदेखि चारवटा मन्त्रालयसँग समन्वय गर्नुपर्ने अवस्था रहेकाले सरकारी निकायसँगको सहकार्य, व्यवसायीका समस्या समाधान र संघको आर्थिक सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेको उनले बताए ।
यता, वरिष्ठ उपाध्यक्ष पदमा गण्डकी प्रदेशबाट यमनाथ पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । पौडेलका अनुसार उक्त पदमा हालसम्म दुई जनाको उम्मेदवारी परेको छ भने उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले दुईदेखि तीन जनासम्म प्रतिस्पर्धी हुन सक्ने अवस्था छ ।
देशभरका औषधि व्यवसायीमध्ये करिब ८३ प्रतिशत खुद्रा व्यवसायी रहेको उल्लेख गर्दै पौडेलले आफ्नो उम्मेदवारीको आधार उनीहरूको प्रतिनिधित्व, लामो व्यावसायिक अनुभव र सङ्गठनमा गरेको योगदान रहेको बताए । आफूले २०४९ सालदेखि औषधि व्यवसाय गर्दै आएको र करिब ३५ वर्षदेखि यही क्षेत्रमा सक्रिय रहेको उनको भनाइ छ ।
पौडेलले एनसीडीएको कास्की तथा तत्कालीन गण्डकी अञ्चल शाखामा दुई कार्यकाल अध्यक्ष भएर काम गरेको र केन्द्रीय तहमा सचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । देशभरका विभिन्न जिल्लाका व्यवसायीसँग आफ्नो परिचय र समन्वय रहेको उल्लेख गर्दै उनले संगठनमा गरेको काम, अनुभव र कार्यकुशलताका आधारमा वरिष्ठ उपाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेको बताए ।
यसैगरी, केन्द्रीय सचिव पदमा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् । लामो समयदेखि औषधि व्यवसायमा आबद्ध पाण्डेले गण्डकी प्रदेशको संस्थापक अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । पोखरा सम्पन्न भएको केन्द्रीय महाधिवेशनमा मिडिया संयोजकको जिम्मेवारीसमेत सफलतापूर्वक पूरा गरेको उल्लेख गर्दै उनले सङ्गठनको अनुभवलाई राष्ट्रिय तहमा उपयोग गर्ने उद्देश्यले सचिव पदमा अघि बढेको बताएका छन् ।
यो पेशामा भूईबाटै काम गर्दै आएकाले उनीहरूका समस्या र मर्का नजिकबाट बुझेको पाण्डेको भनाइ छ । केन्द्रीय तहका विभिन्न बैठकमा सहभागी हुँदै आएको र आफ्नै नेतृत्वमा व्यवसायीका लागि विभिन्न तालिमसमेत सञ्चालन गरिएको उनले बताए । आफू थोक व्यवसायमा समेत आबद्ध रहेकाले थोक व्यवसायीका समस्या र चुनौतीबारे पनि जानकार रहेको उनको भनाइ छ ।
त्यस्तै, गण्डकी प्रदेशबाट महिला केन्द्रीय सदस्यमा कमला भण्डारीले पनि उम्मेदवारी दिने घोषणा गरेकी छन् । केन्द्रीय नेतृत्वमा महिला व्यवसायीको प्रतिनिधित्व विस्तार गर्ने तथा संघका गतिविधिमा महिला व्यवसायीको सहभागिता र आवाजलाई प्रभावकारी बनाउने उद्देश्यसहित उनले उम्मेदवारी दिने तयारी गरेकी हुन् ।
नेपाल औषधि व्यवसायी संघको १५ औँ राष्ट्रिय महाधिवेशन तथा ५३औँ वार्षिक साधारणसभा आगामी मङ्सिर ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा हुँदैछ । महाधिवेशनले आगामी तीन वर्षका लागि २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।
होस्ट कर्णाली प्रदेशका अध्यक्ष प्रेम भण्डारीका अनुसार महाधिवेशनमा देशभरबाट औषधि व्यवसायी, कलाकार तथा अतिथिसहित ३०० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजक प्रदेशका तर्फबाट व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने गरी तयारी भइरहेको उनले बताए ।
यसै वर्ष सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना हुने भए पनि कार्यक्रमको मिति नजुध्ने र आवश्यक समन्वय भइरहेको भण्डारीले बताए । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अतिथिलाई कर्णालीको कला, संस्कृति, रहनसहन र स्थानीय खानपानसँग परिचित गराउने तयारीसमेत गरिएको उनको भनाइ छ ।
उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले आगामी दिनमा थप आंकाक्षीहरू देखिन सक्नेछन् । हालसम्म गण्डकी प्रदेशबाट चार पदमा उम्मेदवारी घोषणा भइसकेको छ । अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा सम्भावित प्रतिस्पर्धी थपिने चर्चा भइरहँदा यसपटकको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धा र सर्वसम्मतिको प्रयास दुवैलाई चासोका साथ हेरिएको छ ।







