कलर सार्जेन्ट कृष्णबहादुर दुरा अफगानिस्तानको हेल्मन्ड प्रान्तस्थित मुसा काला जिल्लामा सडकमार्ग हुँदै सैनिक आवागमनमा सहभागी थिए।
उनी सवार ‘वारियर इन्फ्यान्ट्री फाइटिङ भेहिकल’ (सैनिक बख्तरबन्द गाडी) विस्फोटक पदार्थ राखिएको उपकरणमा परेर विस्फोट हुँदा उनको १५ नोभेम्बर २००८ मा मृत्यु भएको थियो। त्यसबेला उनको उमेर ३६ वर्ष थियो । र, उनको पल्टन थियो ‘दी रोयल गोर्खा राइफल्स’ ।
३६ वर्षीय कलर सार्जेन्ट कृष्णबहादुर दुरा नेपालको पश्चिमी क्षेत्र लमजुङ जिल्लाका बासिन्दा थिए। उनी सन् १९९२ मा बेलायती सेनामा भर्ती भएका थिए। उनले हङकङस्थित गोर्खा ब्रिगेडको तालिम केन्द्रमा प्रारम्भिक सैनिक तालिम पूरा गरेका थिए। त्यसपछि उनलाई बेलायतको चर्च क्रुकह्यामस्थित सेभेन्थ ड्युक अफ एडिनबर्ग्स ओन गोर्खा राइफल्सको ‘ए’ कम्पनीमा खटाइएको थियो।
उनी सुरुदेखि नै शारीरिक रूपमा बलिया र क्षमतावान् सैनिकका रूपमा चिनिएका थिए। उनले ‘अल आर्म्स प्यारासुट सिलेक्सन कोर्स’ सहजै उत्तीर्ण गरेका थिए। सैनिक सेवासम्बन्धी सबै तालिममा उत्कृष्ट प्रदर्शन गरेका उनले छिटोछिटो पदोन्नति हासिल गरे।
उनको लगनशीलता, दृढ इच्छाशक्ति र उत्कृष्ट सैनिक क्षमताका कारण करिअरको सुरुवाती चरणमै उनी अलग पहिचान बनाउन सफल भए। त्यसपछि उनलाई दोस्रो बटालियन प्यारासुट रेजिमेन्टअन्तर्गत गोर्खा रिइन्फोर्समेन्ट कम्पनीमा सेवा गर्न छनोट गरियो। उक्त बटालियनमा उत्कृष्ट सेवा गरेपछि उनी सन् १९९७ मा दोस्रो बटालियन रोयल गोर्खा राइफल्समा फर्किए।
कलर सार्जेन्ट दुरा अनुभवी र असाधारण क्षमता भएका वरिष्ठ गैरआयोग प्राप्त सैनिक अधिकारी थिए। उनले बोस्निया हर्जगोभिना, पूर्वी टिमोर र सियरा लियोनमा दुई पटक गरी विभिन्न सैनिक कारबाहीमा सेवा गरेका थिए। अफगानिस्तानमा भने उनको यो तेस्रो कार्यकाल थियो।
गत वर्ष उनी कलर सार्जेन्ट पदमा बढुवा भएका थिए। त्यसपछि बटालियनको सपोर्ट कम्पनीअन्तर्गत स्नाइपर प्लाटुन गठन गर्ने जिम्मेवारीका लागि उनलाई छनोट गरिएको थियो। उनले निकै उत्साह र दक्षताका साथ उक्त जिम्मेवारी सम्हाले। बटालियनका केही उत्कृष्ट सैनिकलाई समेटेर उनले प्रभावकारी स्नाइपर प्लाटुन गठन गरेका थिए।
दुरा आफ्नो व्यक्तित्व र व्यवहारबाट नेतृत्व गर्ने सैनिक अधिकारी थिए। उनी अरूलाई उपदेश दिनुभन्दा आफैँ उदाहरण बनेर नेतृत्व गर्थे। कठिन परिस्थितिमा पनि उनी असाधारण रूपमा शान्त रहन्थे। स्वभावले संयमित र कम बोल्ने उनी दबाबमा समेत आफ्नो धैर्य कायम राख्न सक्थे।
उनी बेलायती सेनाका उत्कृष्ट स्नाइपरमध्ये एक मानिन्थे। स्नाइपर तालिममा उत्कृष्ट विद्यार्थीको उपाधिसमेत हासिल गरेका थिए। उनी सबैबाट अत्यन्त सम्मानित थिए।
उनी निकै उत्साही र स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने व्यक्ति थिए। साथीभाइ तथा सहकर्मीसँग फुटबल खेल्न उनलाई विशेष रुचि थियो।
एक कुशल सैनिक र नेतृत्वकर्ताका रूपमा उनको प्रभावशाली व्यक्तित्वभित्र अत्यन्त कोमल र सहयोगी मन पनि लुकेको थियो। उनी आफ्नी श्रीमती र दुई छोरीप्रति गहिरो माया र समर्पण राख्थे।
हामी उहाँहरूलाई सधैँ सम्झिरहनेछौँ !







