७७ लाख खर्चदै मानवसेवाले बचायो ३ करोड ४ लाख

मानवसेवा आश्रमले पोखरा २५ हेमजामा आयोजना गरेको श्रीमद्भागवत् सप्ताह, पितृ–उद्वार ज्ञान–विज्ञान महायज्ञ–२०८३बाट ३ करोड ४ लाख ५९ हजार १ सय ८४ रुपैयाँ बचत भएको छ ।

आश्रमको कास्की हेमजा शाखाको भौतिक पूर्वाधार तथा सेवा विस्तारको लागि सञ्चालन गरिएको ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ दान संकलन भएको महायज्ञ मुल संयोजक अनिलकुमार शाहीले जानकारी दिए ।

महायज्ञ–२०८३ को आय–व्यय विवरण सार्वजनिक गर्न सोमबार आयोजना गरेको कार्यक्रममा संयोजक शाहीले महायज्ञ सम्पन्न गर्न ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ खर्च भएको बताए ।

आश्रमको मुल भवनलाई पूर्णता दिन, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्नता, आश्रमको अक्षयकोष वृद्धि गरी दीगो सेवा सुनिश्चित गर्ने उद्देश्यले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म महायज्ञ गरिएको थियो ।

संयोजक शाहीले पितृ मोक्ष तथा शान्तिको अभीष्टसहित सञ्चालन गरिएको महायज्ञका लागि नगद, चेक, क्यूआर कोड अनलाइन माध्यमबाट प्राप्त दान, व्यक्ति तथा संस्थागत प्रतिबद्धता, स्थानीय तह, जिन्सी सहयोग, दान पेटिका गोप्यदानबाट सहयोग प्राप्त भएको जनाए ।

महायज्ञ सञ्चालनको क्रममा खाद्यान्य, प्रचार प्रसार,कलाकार तथा पण्डित, विद्युत, पूजा, स्वागत सत्कार, यातायात, टेन्ट तथा साउण्ड सिस्टम लगायतका शीर्षकमा खर्च भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष मीना कुँवरले जानकारी दिइन् ।

उनका अनुसार आश्रमको मुल भवनलाई पूर्णता दिन १ करोड ४२ लाख, ८२ हजार ७सय ६० रुपैयाँ, आश्रमको अक्षयकोष श्रीवृद्धिको लागि ४९ लाख ७३ हजार ५ सय ८६ रुपैयाँ दान संकलन भएको छ ।

मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्नताका लागि २१ लाख १८ हजार ८सय २१ रुपैयाँ, जिन्सी सामाग्रीहरुको मुल्यांकनमा ७ लाख ८१ हजार ३ सय ९५ रुपैयाँ, दान पेटिकाबाट प्राप्त ४ लाख २२ हजार ५सय ७३ रुपैयाँ, महायज्ञ व्यवस्थापनको लागि १२ लाख ५१ हजार ३सय २५ रुपैयाँ र लक्ष्मीनारायण मन्दिरको लागि २ लाख ७५ हजार २ सय ४३ रुपैयाँ दान संकलन भएको कोषाध्यक्ष कुँवरले बताइन् ।

Scroll to Top