वीरको बेडबाटै चौथो दिनमा नर्स ज्योतिको ‘सत्याग्रह’

नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक, श्रम शोषण अन्त्यलगायत १५ बुँदे माग राख्दै आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको अनशन बसेको चौथो दिन चलिरहेको छ ।

१४ साउन देखि अनशनरत रानाभाटको स्वास्थ्य अवस्था लगातार कमजोर बन्दै गएपनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको भन्दै नर्सिङ क्षेत्रले असन्तुष्टि जनाएको छ ।

रानाभाटको उपचार वीर अस्पतालमा भइरहेको छ । चिकित्सकका अनुसार उनको रक्तचाप र सुगरको मात्रा घट्दैगएको छ । चिकित्सकहरूले आईसीयूमा राख्न सुझाव दिएपनि उनले अस्वीकार गरेकी छन् ।

यस्तै, उनले औषधिसमेत लिन नमानेको उनका सहयोगी कविता सिटौलाले बताइन् ।

रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सहभागी हुने वार्ताको माग गरेकी छन । स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोलीसँग भएको छलफल भने निष्कर्षविहीन बनेको थियो । सरकार कार्ययोजनासहित वार्तामा नआएको भन्दै उनले असन्तुष्टि जनाएकी छन् ।

यसैबीच, नेपाल नर्सिङ संघले सरकारलाई यसअघि भएका सहमति तत्काल कार्यान्वयन गर्न र अनसनरत रानाभाटको जीवनरक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेको छ । संघले नर्सहरूको सेवा–सुविधा, तलब–भत्ता र कार्य वातावरण सुधार नगरे गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नहुने चेतावनी दिएको छ ।

रानाभाटले सरकारीदेखि निजी अस्पतालसम्म कार्यरत नर्स तथा मिडवाइफलाई सरकारले तोकेकोभन्दा कम नहुने न्यूनतम पारिश्रमिक, सम्मानजनक सेवा–सर्त, पर्याप्त दरबन्दी, श्रम शोषणको अन्त्य, जोखिम भत्ता, सार्वजनिक बिदा र विभेदकारी कानुनी व्यवस्था संशोधनलगायत १५ बुँदे माग तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेकी छन् ।

Scroll to Top