आज विश्व उच्च रक्तचाप दिवस। विभिन्न चेतनामूलक कार्यक्रमसहित नेपाललगायत विश्वभर मनाइँदैछ।
पछिल्लो समय बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा तथा प्रशोधित पदार्थको अत्यधिक प्रयोग, मानसिक तनाव, प्रतिस्पर्धात्मक जीवनशैली लगायतका कारण उच्च रक्तचापका बिरामीको संख्या बढ्दो क्रममा रहेको चिकित्सक बताउँछन्।
यही समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाउने गरिन्छ।
विशेषज्ञका अनुसार उमेरको प्रभाव, अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, वातावरणीय असर तथा वंशाणुगत कारणले पनि उच्च रक्तचापको समस्या बढ्दै गएको छ। समयमै रक्तचाप परीक्षण, नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनमार्फत उच्च रक्तचाप नियन्त्रण गर्न सकिने चिकित्सकको सुझाव छ।
नेपालमा मुटुरोग मृत्युको प्रमुख कारण बन्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
यसरी मुटुरोगको जोखिम बढाउनु र मृत्युको मुखमा पुर्याउनुको मुख्य कारक तत्त्व ‘उच्च रक्तचाप’ मानिएको छ। नेपालमा हालसम्म ठुलो स्तरको जनसंख्या अध्ययन नभए पनि विभिन्न स्याम्पलिङ अध्ययनका अनुसार नेपालको कुल वयस्क जनसंख्याको करिब ३० प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको पाइएको छ ।
मुलतः धूम्रपान, मद्यपान र खराब खानपान जस्ता पुराना कारणहरू त छँदै छन्, तर पछिल्ला वर्षमा आधुनिक जीवनशैलीका केही नयाँ पक्ष उच्च रक्तचाप र मुटुरोगका प्रमुख कारण बनेर देखा परेका छन्।
उच्च रक्तचाप नियन्त्रणका लागि औषधोपचारसँगै सक्रिय र स्वस्थ जीवनशैली अपनाउनु अत्यन्त आवश्यक मानिन्छ।
आधुनिक चिकित्साशास्त्रमा उच्च रक्तचाप नियन्त्रणका लागि सुरक्षित र प्रभावकारी औषधि उपलब्ध छन्। तर, यसका साथसाथै मानसिक तनाव व्यवस्थापन, नियमित व्यायाम, योग र ध्यान उपयोगी हुन्छ।
आफूलाई मनपर्ने सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुँदा पनि तनाव कम भई रक्तचाप नियन्त्रणमा सहयोग पुग्ने चिकित्सक बताउँछन् ।
त्यस्तै, उच्च रक्तचाप नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।
आवश्यक सुझावहरुः
खाना पकाउँदा कम नुन प्रयोग गर्ने,
थप नुन हालेर नखाने,
प्याकेट तथा प्रशोधित खाद्य पदार्थ कम खाने,
चिप्स, नम्किन, बिस्कुट, चिज, बटरजस्ता बढी नुनयुक्त खानेकुरा कम सेवन गर्ने बानी बसाल्नुपर्छ।
स्वादका लागि नुनको सट्टा कागती, मरिच वा अन्य प्राकृतिक मसला प्रयोग गर्न सकिन्छ।
धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिमा तौल बढी हुने देखिन्छ। तौल घटाउँदा रक्तचाप पनि घट्ने भएकाले सन्तुलित आहार र नियमित शारीरिक गतिविधिमा ध्यान दिन आवश्यक छ।







