पछिल्लो समय चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले ती घटनामा संलग्न दोषीहरुलाई पत्ता लगाई कानुनको दायरामा ल्याउन सरकारका सम्बन्धित निकायले आवश्यक कार्य गरिरहेको बताएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा भएको उल्लेख गरेका छन् ।
नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नु तथा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु स्वास्थ्यकर्मीको अधिकारका साथै सबै नागरिकको साझा दायित्व भएको उनले बताए ।
मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गर्न आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘निर्वाध रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न मन्त्रालय सबै अस्पतालहरुलाई अपील गर्दछ ।’
यस कार्यमा सहयोग, सहजीकरण तथा समन्वय गरिदिन मन्त्रालयले विज्ञप्तीमार्फत सम्बन्धित सबै निकायमा अपील समेत गरेको छ । विज्ञप्तीको अन्त्यमा भनिएको छ, ‘स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा प्रवाहमा सबैले सहयोग गरौँ ।’







