कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौ अर्चलेमा व्यवस्थित टिकट घर निर्माण गरिएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो संरचना बनाएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले शुक्रबार टिकट घरको उद्घाटन गरे ।
मन्त्री नेपालीले सिङ्गो राष्ट्रलाई चिनाउने कविको सम्मानमा हुने कामले राज्यलाई नै सहयोग पुग्ने बताए । उनले टुक्रे योजनाभन्दा पनि एकीकृत विकासको आवश्यकता औंल्याए ।
‘एउटा मास्टर प्लान बनाऔं, त्यसको खाका बनेपछि मात्र काम कसरी अगाडि बढाउने भन्ने स्पष्ट हुन्छ,’ उनले भने । कविको जन्मस्थललाई प्रदेश स्तरीय साहित्यिक पर्यटकीय स्थल बनाउन दीर्घकालीन योजना चाहिने उनको भनाइ थियो । पर्यटकले टिकट किनेर भित्र छिरेपछि सन्तुष्ट भएर फर्कने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
संघले हरेक वर्ष महोत्सवबाट संकलित केही रकम सामाजिक काममा खर्च गर्दै आएको छ । सोही अन्तर्गत कविको जन्मघर र संग्रहालय अवलोकन गर्न आउने दर्शकको सहजताका लागि टिकट घर बनाइएको हो । नवनिर्मित भवन संघले जन्मस्थल विकास समितिलाई हस्तान्तरण समेत गरेको छ ।
संघका पूर्वअध्यक्ष चतुराखर अधिकारीले लेखनाथका कवितामा वर्णित प्राकृतिक दृश्यलाई समेटेर यसलाई ‘प्रयोगात्मक स्थल’ का रुपमा विकास गर्नुपर्ने धारणा राखे । यहाँका खोला र वनजंगललाई कवितासँग जोड्न सके विदेशी पर्यटक समेत आकर्षित हुने उनले बताए । ‘विदेशका साहित्यिक स्थलमा जस्तै यहाँ पनि नियमित कविता वाचन र अवलोकनका कार्यक्रम राख्नुपर्छ,’ अधिकारीले भने ।
संस्थाकी अध्यक्ष जानुका पराजुलीले अर्चलेमा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटक भित्र्याउने ठूलो सम्भावना रहेको बताइन् । ‘टिकट घर एउटा उदाहरण मात्र हो, यहाँ अझै धेरै भौतिक पूर्वाधार बनाउन बाँकी छ,’ उनले भनिन् । उनले संग्रहालय निर्माणका लागि सानो स्रोतले नपुग्ने भएकाले केन्द्र र प्रदेश सरकारसँग थप बजेटका लागि लबिङ गर्नुपर्ने बताइन् ।
पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले जन्मस्थल विकासका लागि प्रदेश सरकारले विशेष भूमिका खेल्नुपर्ने माग गरे । बजेट निर्माणका बेला धेरै करोडको आश्वासन आए पनि व्यवहारमा लागू नभएको उनले गुनासो गरे ।
लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेलले पुस १५ गते पर्ने लेखनाथ जयन्तीलाई प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गर्नुपर्ने माग गरे । ‘भानु जयन्तीमा बिदा दिने तर कवि शिरोमणिको जयन्तीमा नदिने कुरामा हाम्रो असहमति छ, हामी यसबारे मन्त्रालयमा निवेदन दिनेछौं,’ उनले भने ।







