एकादशीको शुभ साइतमा पोउवाको अध्यक्षमा उत्तममानको उम्मेदवारी घोषणा

भदौ २० गतेबाट सुरु हुने पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशनमार्फत वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

संघको नेतृत्व सम्हाल्दै उद्योगी व्यवसायीहरूको हक, हित र एकता सुदृढीकरणका लागि उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।

विगत लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र व्यावसायिक संघसंस्थामा सक्रिय रहँदै आएका बुद्धाचार्यले आफ्नो ज्ञान, सीप र अनुभवका आधारमा सफल नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

पोखराको अग्रणी व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघबाटै व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने अठोट उनले व्यक्त गरेका छन्।

यसअघि संघको कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेका बुद्धाचार्यले आम व्यवसायीको सामिप्यमा रहेर अझै प्रभावकारी सेवा गर्ने उद्देश्यले अध्यक्षमा दाबी गरेको बताए।

हरिशयनी एकादशीको अवसरमा सम्पूर्ण उद्योगी व्यवसायी साथीहरूमा शुभकामना व्यक्त गर्दै उनले भने, ‘विगतमा यहाँहरूबाट प्राप्त साथ, सहयोग र सद्भावनाको उच्च कदर गर्दछु। आगामी दिनमा अझै सक्रिय र सबलताका साथ व्यावसायिक हकहितका लागि काम गर्न प्रतिबद्ध छु।’

उनले आसन्न निर्वाचनमा आफूलाई विजयी गराउन सम्पूर्ण मतदाता तथा व्यवसायीहरूसँग साथ र सहयोगको अपेक्षासमेत राखेका छन्।

Scroll to Top