निर्वाचन क्षेत्र जाँदा रास्वपा सांसदले पार्टीलाई पूर्व जानकारी दिनुपर्ने

रास्वपाले आफ्ना सांसदलाई जिल्ला वा निर्वाचन क्षेत्र जाँदा पार्टीलाई पूर्व जानकारी दिन र आवश्यक समन्वय गर्न निर्देशन जारी गरेको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वार प्रेषित सूचना अनुसार सांसदलाई अनुशरण गर्न ५ निर्देशन दिइएको छ ।

जसअन्तरगत यस्ता निर्देशन दिइएको छः

१. संस्थागत समन्वय र पूर्व-सूचना :
कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुहुन। सांसदहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुग्ने कार्यक्रम भएमा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रलाई सूचित तथा आवश्यक समन्वय गर्न गराउनुहुन।

२. स्थानीय मुद्दाको प्राथमिकीकरण :
भ्रमणका क्रममा आयोजना हुने अन्तर्क्रियाहरूमा स्थानीय समितिसँग पूर्व-छलफल गरी, त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दाहरू पहिचान गर्न। ती स्थानीय समस्याहरूलाई समाधानका लागि तत् तत् निकायसँग विधिवत् समन्वय गर्न कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्ने।

३. सांगठनिक अपनत्व र जन-परिचालन :
कार्यक्रमको मोडालिटी तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी गर्न।

४. मितव्ययिता र सुशासन :
भ्रमण र कार्यक्रमहरूलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट पूर्णतः मुक्त राख्दै, स्रोत-साधनको मितव्ययी उपयोग गरी सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न।

५. नीतिगत पृष्ठपोषण प्रणाली :
निर्वाचन क्षेत्रका नागरिकमाझ जाने क्रममा प्राप्त जन-सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत रिपोर्टिङलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न।

Scroll to Top