‘जान्नेलाई, छान्ने’ पार्टीमा प्रशिक्षणै-प्रशिक्षण !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावताका जान्नेलाई छान्ने भन्दै प्रचारप्रसारमा निस्किएको थियो । यसको सोझो अर्थ, आफु ‘जान्ने’ र ठूला भनिएका दलहरु ‘नजान्ने’ भन्ने थियो ।

जसै रास्वपाले चुनाव जितेर सरकार गठन गर्यो, त्यसपछि उनीहरुको प्रस्तुती र विषयवस्तुमाथिको टिप्पणीले जान्ने शब्दको हुर्मत लियो ।

संसदमा जानुअघि होटल रोयल टुलिपमा सांसदलाई प्रशिक्षण दिएर पठाएपनि उनीहरुको कार्यशैली आलोचित भयो ।

यसैबीच, रास्वपाले पुनः प्रतिनिधि सभाका सांसदहरु, केन्द्रीय समिति सदस्य र प्रदेश समिति सदस्यलाई प्रशिक्षण दिने भएको छ ।

महामन्त्री विपीन आचार्यकाअनुसार प्रशिक्षणको तयारी भइरहेको छ । ‘यो निरन्तर प्रक्रिया नै हो । पार्टी, सरकार र सदनमा प्रभावकारी भूमिका, नीतिगत र संरचनागत प्रक्रियाबारे जानकारी दिने भन्ने हो,’ महामन्त्री आचार्यले भने ।

महामन्त्री आचार्यले प्रशिक्षणको मोडालिटी टुंगिनसकेको बताए । ‘एक दुई दिनभित्र मिति र स्थान टुंगिन्छ । महाधिवेशनपछि हामीले सांसदहरु, केन्द्रीय सदस्य र प्रदेश समितिलाई पार्टीको नीति, विचार, सिद्धान्त, कार्यदिशा, सरकारलाई सफल बनाउन खेल्नुपर्ने भूमिका, सदनमा रचनात्मक नेतृत्वदायी भूमिकालगायत विषयमा केन्द्रीत भएर प्रशिक्षण हुन्छ । उहाँहरुको कुरा सुन्ने र त्यसमा नेतृत्व तहबाट अभिमुखीकरण हुन्छ,’ उनले भनेका छन् ।

रास्वपाले यसअघि दुईपटक सांसदहरुलाई प्रशिक्षण दिइसकेको छ । तर प्रशिक्षणपश्चात् पनि मुस्किलले रास्वपाका ४० प्रतिशत सांसदहरु सम्बन्धित विषयमा दख्खल राख्छन् भने केहीले सोही ज्ञान पनि प्रष्टरुपमा राख्न नसकेको देखिन्छ ।

पछिल्लो समय आफ्नै सांसदहरुले सरकार र पार्टी विपरित बोलेको भन्दै सम्भवतः यही विषयमा रास्वपाले प्रशिक्षण दिन लागेको आंकलन गरिएको छ ।

त्यसो त संसदीय दलको ‘पिजन होल’मा प्रशस्तै पुस्तक, नियम, विधेयक, नियमावली उपलब्ध छन् । तर, प्रायः सांसदले त्यस्ता पठनीय सामग्री नलैजाने र लगेपनि अध्ययन नगर्ने परिपाटीले रास्वपा हैरान छ ।

अन्य दलजस्तो लामो राजनीतिक यात्रा नगरेका कारण रास्वपाका सांसदहरुसँग आवश्यक ज्ञान, अनुभव नहुनु सामान्य भएपनि कोही जान्दै नजान्ने त कोही अति जान्ने शैलीमा प्रस्तुत भएकाले पनि रास्वपाले बाराम्बार प्रशिक्षणको आयोजना गरेको ठान्न सकिन्छ ।

Scroll to Top