मनिता मृत्यु प्रकरणमा अस्पताल र डाक्टरबाट ३९ लाख क्षतिपूर्ति भराउन आदेश

प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौंको गोठाटारकी मनिता शर्माको उपचारमा एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीले लापरबाही गरेको उपभोक्ता अदालतले ठहर गरेको छ ।

उपभोक्ता अदालतले बिहीबार दिएको फैसलामा एभरेस्ट अस्पताल र चिकित्सकको उपचारमा लापरबाही पुष्टि गर्दै पीडित पक्षलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो ।

अदालतका प्रवक्ता होमनाथ कँडेलका अनुसार अध्यक्ष डा. दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा। ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

मृतक मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए ।

प्रवक्ता कँडेलका अनुसार अदालतले उपचार प्रक्रियामा भएका कमजोरीलाई निर्णयको मुख्य आधार बनाएको छ ।

विशेषगरी प्रि–एक्लेम्प्सियाको समस्या भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि अपरेसनअघि नदिई शल्यक्रियापछि मात्रै दिइएको विषयलाई उपचारमा भएको गम्भीर कमजोरीका रूपमा अदालतले ग्रहण गरेको उनले बताए ।

Scroll to Top