चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो निजी स्वार्थको प्रभाव हटाउन माग गर्दै प्राडा गोविन्द केसीले सरकारलाई अल्टिमेटम दिएका छन् ।
उनले चिकित्सा शिक्षालाई कानुनअनुसार पूर्ण रूपमा गैरनाफामूलक बनाउनुपर्ने माग गर्दै आगामी साउन ५ गतेभित्र आफ्ना मागहरू सम्बोधन नभए सत्याग्रहसहितका आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् ।
केसीले स्थापित नियम, मूल्य र मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षाका नियमनकारी निकायमा गरिएका पदाधिकारीहरूको नियुक्ति तुरुन्त खारेज गर्न माग गरे ।
उनले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना नै निजी कलेजहरूलाई पुन: सिट वृद्धि गर्ने प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने बताए ।
चिकित्सा शिक्षाको गुणस्तर र सर्वसुलभताका लागि वकालत गर्दै आएका उनले भने, ‘चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस् ।’
यसअघि पनि पटक–पटक सत्याग्रह गर्दै आएका केसीले यसपटक पनि आफ्ना माग पूरा गराउन सरकारलाई निश्चित समयसीमा तोकेका हुन् ।







