चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले चालु शैक्षिक सत्रका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो ।
आयोगका अनुसार यो सिट सङ्ख्या गत शैक्षिक सत्रको तुलनामा ४१८ ले बढी हो । सिट निर्धारणका लागि देशभरका ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए ।
विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमन प्रतिवेदनका आधारमा ९० मध्ये ८४ वटा शिक्षण संस्थामा यस वर्षका लागि सिट निर्धारण गरिएको आयोगले जनाएको छ ।
आयोगका सदस्य सचिव हरिप्रसाद निरौलाका अनुसार एमबीबीएस कार्यक्रममा गत वर्षको तुलनामा ११० सिट वृद्धि गरिएको छ । यसअन्तर्गत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सिट प्राप्त गरेको छ ।
त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३०–३० सिट थप गरिएको छ ।
निरौलाका अनुसार यस वर्ष एमबीबीएसतर्फ निजी मेडिकल कलेजको सिट सङ्ख्या भने वृद्धि गरिएको छैन । थपिएका सबै सिट सरकारी शिक्षण संस्थाका हुन् ।
‘निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट वृद्धि गरिएको छैन । एमबीबीएसमा बढेको सिट सरकारी संस्थाको मात्रै हो,’ उनले बताए ।
एमबीबीएसबाहेक अन्य चिकित्सा शिक्षा कार्यक्रमका सिटसमेत वृद्धि गरिएको आयोगले जनाएको छ ।
आयोगका सदस्य सचिव निरौलाका अनुसार बीएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २१० सिट थप गरिएको छ । त्यस्तै, बीएमएस कार्यक्रममा ९८ सिट वृद्धि गरिएको छ ।
चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा सिट सङ्ख्या बढेसँगै यस वर्ष विद्यार्थीका लागि अध्ययनका थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।







