दिपक के श्रेष्ठ
रास्वपाको महाधिवेशनमा अन्य दलका नेतासँगै नेपाली कांग्रेसका सभापति गगन थापा पनि निम्त्याइए । उनै सभापति थापाले महाधिवेशनस्थल चितवनमा महाधिवेशनको शुभकामनामात्रै दिएनन्, सभापति रवि लामिछाने र वरिष्ठ नेतालाई बधाई पनि दिए ।
शुभकामनासँगै थापाले रास्वपालाई चेतावनी दिँदै भनेका थिए, ‘३० वर्षमा भएको परिवर्तनलाई अनदेखा पनि नगर्नुहोस्, तपाई जहाँ उभिनुभएको छ, त्यहाँ ०१८ सालमा प्रजातन्त्रका लडाईमा होमिएका करिब ५० जनाको लाश गाडिएको छ ।’
उनले यसो भन्दै गर्दा कांग्रेसले पञ्चायतको विरोधमा आन्दोलन गर्दा ज्यान गुमाएको योद्धाहरुको स्मरण गर्न बाध्य बनाए । नेपालको राजनीतिक इतिहासमा अध्यक्ष थापाले भनेको कुरो ‘सत्य’ हो ।
यद्यपि, ‘भरतपुर काण्ड’मा ५० जनाको ज्यान गएको तथ्यांक हालसम्म भेटिएको छैन । यस विषयमा केही वर्ष अघि यस सम्वाददाताले अध्ययन गर्दा २८ जनाको ज्यान गएको जानकारी प्राप्त भयो ।
यही घटनामा ज्यान गुमाएका कास्कीका हरिप्रसाद गुरुङको बलिदानीको आँखिझ्यालबाट भरतपुर काण्डलाई यसरी बुझ्न सकिन्छः
नेपाली राजनीतिक इतिहासमा १८ सालको भरतपुर काण्डलाई त्यति याद गरिएको पाइदैन । राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गर्दै नेपाली कांग्रेसको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लादेपछि त्यसको विरोधमा भरतपुरमा सशक्त र सशस्त्र आन्दोलनको ज्वारभाटा फैलिएको थियो ।
कांग्रेसका प्रमुख नेतामध्ये केही जेलमा थिए भने केही निर्वासनमा भारत लागेका थिए । तिनै नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहालीकाखातिर भरतपुरमा विशाल प्रदर्शन भयो । प्रदर्शन दबाउन राजधानीबाट समेत सेना परिचालन गरिएको त्यस दमनमा कति मारिए लेखाजोखा नै छैन ।
सोही आन्दोलनको अग्रपंक्तिमा रहेर मृत्युवरण गर्नेमध्येका एक हुन्, हरिप्रसाद गुरुङ । उनै गुरुङको पूर्णकदको सालिक पोखराको सिम्पानीमा देख्न सकिन्छ । र, सालिक स्थापनापछि त्यस ठाउँले नयाँ नाम पायो, ‘हरिचोक ।’ नाम र चोक भएपनि को हुन् हरिप्रसाद गुरुङ ? उनकोबारेमा नयाँ त परै जाउन्, पुराना कांग्रेसलाई समेत उतिबिघ्न थाहा छैन ।
वि. सं. १९७३ वैसाख १२ गते कास्कीको ल्वाङघलेलमा जन्मिएका हुन् हरिप्रसाद गुरुङ । जिम्मुवाल परिवारका गुरुङलाई शिक्षा दिन घरमै मास्टरको व्यवस्था गरिएको थियो । शिक्षा र उमेर बढ्दै जाँदा उनको ठाटले पनि सोही रफ्तार लियो । तबेलामा बाँधिएको सेतो घोडा चढेर शानकासाथ गाउँ चाहार्नु र पोखरा झर्नु उनका लागि सामान्य थियो ।
मुलुकमा जहाँनिया राणा शासनका बेला उनमा भने विपरित सोंचले मनभित्र क्रान्ति गरिरहन्थ्यो । प्रजाप्ररिषदका गतिविधिलाई यदाकदा सुन्ने अवसर पाएका गुरुङ प्रजातान्त्रिक व्वस्थाको कल्पना गर्थे । जमिन्दार बाबुका छोरा भएपनि उनको शैली भिन्न थियो । उनी स्वतन्त्रताका पक्षपाती थिए । आफन्तका अनुसार उनी केही ‘रौसे’ र ‘टाठा’ थिए ।
त्यही टाठोपन, राजनीतिक प्रभाव र फरक जीवनशैलीबाट उनीप्रति परिवार केही सशंकित थिए । छोरा बिग्रेला भन्ने डरले बेचैन बाबु उनलाई कतै अल्झाउन चाहन्थे । यत्तिकैमा भारतीय सेनामा कार्यरत दाजु घर आएकाबेला हरिप्रसादलाई पनि भर्ती लगाउन भारत पुर्याइयो ।
यता, देसमा प्रजातन्त्र आइसकेको आफु भने भारतीय ब्यारेकमा बुट बजार्दै बस्नु परेको पीडाले उनलाई सताइरहन्थ्यो । भारतीय लाहुरे भएको ३ वर्षपछि छुट्टिमा आएका उनी पुनः ब्यारेक फर्केनन् । जमिन्दार परिवारका गुरुङलाई बुट बजारिहनु पर्ने समस्या पनि थिएन । त्यसपछि उनको पुरै परिवार भरतपुर बसाई सर्यो । यो समय थियो, ०१४ साल ।

प्रजातान्त्रिक व्यवस्था र आफुलाई मनपर्ने पार्टी नेपाली कांग्रेसको सरकार । गुरुङ पार्टीमा पूर्णरुपमा खटिने कार्यकर्ता पनि थिएनन् । उनको पुरै ध्यान भरतपुरलाई बस्ती हुँदै नगरमा परिणत गर्ने दैनिकीमै बित्थ्यो । जंगल फँडानी गरेर भरतपुरलाई नगरी बनाइरहँदा पार्टीभित्रको गुट उपगुटले कांग्रेस सरकारमा किचलो बढ्दै थियो । सम्भ्रान्त राणा र कोइराला खानदानको खिचातानीबीच राजा महेन्द्र सत्ताको च्याखे थापेर बसिरहेका थिए ।
दुई गुटको चेपुवामा उँभो लाग्न नसकिने सोंचमा थिए डा. तुलसी गिरी र विश्वबन्धु थापा । राजा महेन्द्रले दुबै असन्तुष्टलाई प्रभावमा पारी २०१७ पुस १ गतेविशेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा रहेको मन्त्रीमण्डल खारेज गरी पञ्चायतको प्रादुर्भाव गरे । ०१५ सालदेखि सुरु भएको कांग्रेसको सत्ता कलहले अन्ततः व्यवस्था नै सुम्पनु परेको तीतो सत्य हो यो ।

राजा महेन्द्रले ‘कू’ पश्चात् डा. गिरीलाई मन्त्रीपरिषद् उपाध्यक्ष र थापालाई गृहमन्त्रीमा नियुक्त गरे । निर्दलीय व्यवस्थापछि भूमिगत भएका प्रमुख नेता, कार्यकर्ताको थातथलो उनै गिरी र थापालाई कण्ठस्थ थियो । फलस्वरुप, उनीहरु पक्राउ परे । केही भाग्न सफल भई भारततर्फ लागे । प्रजातन्त्रको उपभोग गरिसकेको नेपाली समाज राजतन्त्रविरुद्ध संगठित हुन थालिसकेको थियो । ०१८ को माघदेखिदेसैभर भएको विद्रोहको केन्द्रमा थियो भरतपुर । राजाको आदेशमा गृहमन्त्री थापा व्यापक धरपकड र दमनमा उत्रेका थिए ।
आन्दोलकारीहरुको मूख्य माग थियो, विपिलगायत नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहाली । प्रायः नेताहरु भारतको चम्पारणलाई मुकाम बनाएर बसेका थिए । यसकारण पनि भरतपुर आन्दोलनको केन्द्र बन्यो । आन्दोलन असफल भए वा धरपकड भए सीमा पार गरी ज्यान जोगाउन चम्पारण जिल्लाको नर्कटिया क्याम्प पुग्न सकिने कारण कांग्रेसको रोजाई भरतपुर थियो । आन्दोलनलाई गन्तव्यमा पुर्याउन भूमिगत शैलीमा करिब ८ महिना तयारी गरियो ।
भरतपुर, चितवनमा आन्दोलनलाई उँचााईमा पुर्याउन कमलकुमार राईको अध्यक्षतामा समिति गठन भयो । समितिको सचिवमा बुद्धसिंह रानामगर थिए । प्रचार र संगठनमन्त्रीको जिम्मा महेश्वरलाल श्रेष्ठले लिए । सदस्यमा हरिप्रसाद गुरुङ, लालध्वज गुरुङ, इमानसिंह गुरुङ र पद्यबहादुर बस्नेत चयन भए ।
चितवनको सरकारी क्वार्टरमा कसरी र कहिले आक्रमण गर्ने भन्ने जिम्मा योगप्रसाद उपाध्यायलाई दिइयो । आन्दोलनकारीहरुको तयारी जति तीव्र र चुस्त थियो, सरकारी तयारी झनै दूगुना भयो । यसको अर्काे कारण थियो, गृहमन्त्री थापा । उनी पहिले कांग्रेसमात्रै हैन चितवनबाटै निर्वाचित कांग्रेसी सभासदसमेत थिए ।
आन्दोलनकारीहरुले संघर्ष समिति गठन गर्दा यता सरकारले आन्दोलन दबाउन बडाहाकिम रामनारायण श्रेष्ठको संयोजकत्वमा जिल्ला न्यायधीश जनकमान श्रेष्ठ, सेनाका कमाण्डर भक्तनरसिंह राणा, मेजर मुहानसिंह महत र नारायणी अञ्चल एसपी जगतबहादुर सुब्बा सम्मिलित फोर्स गठन गर्यो । फोर्सको एउटै लक्ष्य थियो, कुनैपनि हालतमा आन्दोलन दबाएर छाड्नु ।सोही कारण राजधानीबाट समेत भरतपुरमा सेना परिचालन गरियो ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार माघ १८ गते कांग्रेसले शक्ति प्रदर्शन गर्यो । तर, सेना र प्रहरीको संयुक्त फौज अगाडी आन्दोलनकारी ढल्दै गरे, पक्राउ परे । प्रतिरक्षाका लागि जुटाइएका केही हतियारसमेत आन्दोलनकारीले प्रयोग गर्न पाएनन् । सुरक्षाकर्मीहरु बर्बर ढंगले प्रस्तुत भएपछि प्रदर्शनकारी हताहत भए ।गुरुङसँगै अन्य कति मारिए हालसम्म संख्या यकिन हुन सकेको छैन । त्यस काण्डमा गुरुङलाई बाँधेर लगियो । त्यसपछि उनी सदाकालागि बेपत्ता भए । गुरुङलाई जिउँदै खाल्डामा पुरियो भन्ने हल्ला चलियो । केहीले गोली हानेर मारियो त कतिले खाल्डोमा हालेर गोली हाने, भने । तर उनीलगायत अन्य कसैको पनि शव पाइएन ।
गुरुङसँगै आन्दोलनमा रहेका *महेश्वरलाल श्रेष्ठले बताए अनुसार उक्त काण्डमा २८ जना बेपत्ता बनाइए । केहीले २२ जना मारिएको बताएका छन् । आन्दोलनमा सहभागीमध्ये कतिलाई त्यहाँबाट पाता कसेर कसैलाई रक्सौल, कसैलाई मेची बोर्डर पुर्याइएको थियो । केहीलाई रौतहटको जंगलतर्फ लगेको स्थानीयले देखेको बताएका थिए । ती मध्ये कसैलाई पुनः जीवित देखिएन । आन्दोलनमा सरिक लालध्वज गुरुङ भरतपुरबाट भागेर पोखरा आउने क्रममा भिमादमा पक्राउ गरी मारिए ।
त्यस्तै, बुद्धसिंह राना, खेमबहादुर गुरुङ र ट्रफि लामासमेत बेपत्ता पारिए । सोही दिन ११ जनालाई सेनाले एउटै डोरीले बाँधेर टिकौलीको जंगल लगेपछि उनीहरु पनि फेरि देखिएनन् । आन्दोलनको त्यस दिनको घटनाबारे महेश्वरलालले बेलाबेला उल्लेख गरेका वृत्तान्त हुन् । त्यस समयका एकमात्र जीवित पात्र उनी हाल भरतपुरमा छन् ।

गुरुङको योगदान र गाथालाई बिर्सन नदिन०५० मा स्थापित शहिद हरिप्रसाद गुरुङ प्रतिष्ठान पोखराले सक्दो मिहिनेत गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष रुद्रबहादुर गुरुङ भन्छन्, ‘उहाँ (हरिप्रसाद) मारिएपछि शहिद घोषणा गरियोस् भनेर हामिले तारान्तार सम्बन्धित निकायमा खबरदारी ग¥यौं, तर सुनुवाई भएन । कांग्रेसले लामो समय सरकार चलाउँदा पनि हाम्रो कुरा सुनिएन ।’ अझ, कांग्रेसलाई नै घटनाबारे पूर्ण जानकारी नभएको भन्दै उनले दुखेसो पोखेका थिए ।
अध्यक्ष रुद्रकाअनुसार हरिप्रसाद बेपत्ता बनाइएपछि उनको सम्पूर्ण सम्पत्तिसमेत सरकारले रोक्का गर्यो । ससुराली खलकको भरथेगले परिवारमा ठूलै समस्या भने हुन पाएन । जुन सम्पत्ति ०४६ सालपछि मात्रै फुकुवा गरिएको थियो । गुरुङ बेपत्ता पारिएपछि श्रीमती दोधाँरमा परिन् र हातमा रातो चुरा लगाइरहेका थिइन् ।
प्रजातन्त्रको पूनर्बहालिपछि नेता गणेशमान सिंहले उनी मारिइसकेको र काजकिरिया गरे हुन्छ भनेपछि अन्ततः ०४६ भदौमा विधिवत काजकिरिया गरिएको प्रतिष्ठानका सचिव टिकाबहादुर गुरुङले जनाए । त्यसबेला नेता सिंहले गुरुङ परिवारलाई किरिया खर्चवापत १ लाख रुपैयाँ उपलब्ध गराएका थिए ।
आन्दोलनमा आफन्त
हरिप्रसाद गुरुङको काजकिरिया गरेपछि परिवार र आफन्तले उनलाई शहिद घोषणा गर्नुपर्ने माग गर्दै कास्की, भरतपुर काँग्रेस हुँदै केन्द्रमा ढोका ढक्ढक्याउन सुरु गर्यो । प्रतिष्ठानका पदाधिकारीहरुको झोलामा सरकार र पार्टीलाई बुझाउन ज्ञापनपत्रका प्रति भइरहन्थे । कांग्रेसका योद्धा भएकाकारण उनलाई शहिद घोषणा गरियोस् भन्ने माग जायज थियो ।
तर, सुनुवाई भइरहेको थिएन । सुनुवाई नभएपनि उनको शालिक स्थापना गर्न प्रतिष्ठानले हदैसम्म पहल ग¥यो । र, फलस्वरुप ०५० मंसिरमा पोखराको सिम्पानीचोकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गुरुङको अद्र्धकद शालिकको स्थापना गरी उक्त स्थानलाई हरिचोक नामाकरण गरे । पछि ०६५ मंसिरमा पूर्णकदको शालिक राखियो । उनको शालिक राख्न कास्की कांग्रेसका शुक्रराज शर्माको योगदान रहेको सचिव टिका बताउँछन् ।
शालिक राखियो, सिम्पानी चोकले नयाँ नाम पायो, तर उनलाई शहिद घोषणा नगरिएकोमा प्रतिष्ठानको लडाई निरन्तर थियो । त्यसपछिको समय विभिन्न तवर र शैलीमा मारिएका व्यक्तिहरुलाई राज्यले आफुखुशी शहिद घोषणा गर्दै पीडित परिवारलाई क्षतिपुर्ति दिँदै गर्दा प्रतिष्ठानका पदाधिकारी बेचैन थिए । ज्ञापनपत्र बुझाउँदै, खबरदारी गर्दै विभिन्न निकायमा धाउँदा आश्वासनबाहेक केही पाएका थिएनन् । तरपनि उनीहरु थाकेनन् । यहि अनवरतको खटाइपछि गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले माघ ११ गते शहिदहरुको नामावली सार्वजनिक गर्ने क्रममा गुरुङको नाम पनि समावेश गरे ।
यसरी बेपत्ता पारिएको ५६ वर्षपछि उनी शहिदको लिष्टमा परे ।
*महेश्वरलाल श्रेष्ठको केही समय अघि निधन भएको खबर प्राप्त भएको छ ।







