मास्टर्नीको विवादास्पद गीत ‘म्याथ सिक्ने’ हटाउँदै प्रियंका कार्कीले मागिन् माफी

नायिका तथा निर्मात्री प्रियंका कार्कीले आफ्नो निर्माण र अभिनय रहेको चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतका कारण उत्पन्न विवादप्रति माफी मागेकी छिन् ।

शिक्षक पेसाको गरिमामा आँच पुर्‍याएको भन्दै सर्वत्र आलोचना भएपछि उनले उक्त गीत युट्युब र सबै सामाजिक सञ्जालबाट हटाएको जानकारी दिएकी छिन् ।

गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत चलचित्रभित्रको आधिकारिक गीत नभई विशुद्ध प्रचारप्रसारका लागि आपसी समन्वयमा तयार पारिएको उनले स्पष्ट पारिन् । उक्त गीत चलचित्रको कथावस्तुमा कतै पनि समावेश नरहेको उनले बताइन् ।

गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित शिक्षक–शिक्षिका पेसा र आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई आफूले अत्यन्तै गम्भीरतापूर्वक लिएको उनले बताइन् ।

उनले भनिन्, ‘कला र मनोरञ्जन पस्कने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि कुनै पनि प्रकारको नकारात्मक असर परोस् भन्ने मेरो वा मेरो टिमको मनसाय कदापि थिएन । यद्यपि, हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु ।’

चलचित्र निर्माणको पहिलो यात्रा थालनी गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने कल्पनासमेत नगरेको भन्दै उनले अहिलेको परिस्थितिलाई गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएको उल्लेख गरिन् । उनले सम्पूर्ण गुरु–गुरुआमा, नेपाल शिक्षक महासंघ तथा यस घटनाबाट आहत भएका दर्शकहरूप्रति उच्च सम्मानसहित माफी मागेकी छिन् ।

यसै गाम्भीर्यतालाई मनन गर्दै ‘दुर्गेश थापा’ युट्युब च्यानल र आफ्ना सामाजिक सञ्जालका प्लेटफर्महरूबाट गीतका अंशहरू पूर्ण रूपमा हटाइसकिएको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘तपाईंहरूले दिनुभएका सल्लाह, सुझाव र आलोचनालाई मैले सकारात्मक रूपमा ग्रहण गरेकी छु । आगामी दिनहरूमा आफ्ना सिर्जना र विषयवस्तु छनौटमा अझ बढी संवेदनशील, जिम्मेवार र सचेत रहने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले आफ्नो कलाकारिता यात्रामा प्राप्त माया र सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर मार्गदर्शनको अपेक्षा गरिन् ।


Scroll to Top