मनाङमा छायांकन हुँदै भारतीय फिल्म

-


     नयाँ लिपि    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको छ ।

चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिनेछ ।

सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको अभिनय छ । अमिताभ बच्चन भने नेपाल आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताए ।

छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन् । चार जनाको मित्रताका कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ । अमिताभको नक्कल (डुप्लिकेट)को भूमिका राजा चौधरीले निभाएका छन् ।

४ अक्टोबरदेखि छायांकन भइरहेको यो फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारले अभिनय गर्ने छन् ।

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायाङ्कन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारी दिए । चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी छन् । हिमाली भेगमा छायाङ्कनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेको पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिए ।

कोभिड–१९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको जिल्लामा विश्वकै सिने जगत्मा ठूलो मानिने बलिउड चलचित्र छायाङ्कन भइरहेको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गरिनेछ । जिल्लामा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थान भए÷नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायाँकारहरूको टोली आएका थिए ।

यस चलचित्र छायाङ्कनले कोभिडले गर्दा थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्न सक्ने अनुमान गरिएको छ ।