फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार जित निकालेको छ ।
शनिबार बिहान सम्पन्न समूहचरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले हराउँदै फ्रान्स समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरेका थिए । नर्वेका थेलो आसगार्डले एक गोल फर्काएका थिए ।
फ्रान्सका डेम्बेलेले खेलको सातौँ मिनेटमा पहिललो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, उनले २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि २१औँ मिनेटमा नर्वेका आसगार्डले गोल फर्काउँदै खेललाई २–१ गोलको स्थितिमा ल्याए ।
यसैगरी, ३२औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेसिरे डुएले गोल गर्दै फ्रान्सलाई ४–१ गोलको जित दिलाए ।
यो जितसँगै समूह चरणका तीनवटै खेलमा शतप्रतिशत जित निकाल्दै फ्रान्स ९ अंकसहित समूह विजेता बनेको छ । यस्तै, पराजित भएको नर्वे ६ अंकका साथ उपविजेता बन्यो ।
समूह चरणको तेस्रो खेल नखेल्दै यी दुई टोली नकआउट चरणमा पुगिसकेका थिए ।







