अर्जेन्टिनाको १३ मिनेटमा ३ गोल, रेफ्रीविरुद्ध इजिप्टको असन्तुष्टी

फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा इजिप्टविरुद्ध ३–२ गोलको पुनरागमन जित निकाल्दै क्वार्टरफाइलन (अन्तिम ८) मा प्रवेश गरेको हो ।

खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछिका १३ मिनेटमा तीन गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो ।

इजिप्टका यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गर्दा अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, लियोनल मेसी र एन्जो फर्नान्डेजले एक–एक गोल गरेका थिए ।

खेलको १५औँ मिनेटमा इजिप्टका यासेरले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए । त्यसपछि ६७औँ मिनेटमा मोस्ताफाले गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाए थिए ।

त्यसपछि ७९औँ मिनेटमा अर्जेन्टिनाका रोमेरोले गोल गर्दै टोलीलाई २–१ गोलको स्थितिमा ल्याए । यस्तै, मेसीले ८३औँ मिनेट र इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए ।

हारपछि इजिप्टका प्रशिक्षकले भने रेफ्रीको निर्णयविरुद्ध असन्तुष्टी जनाउँदै अर्जेन्टिनालाई खेलमा राख्न षडयन्त्र गरेको आरोप लगाएका छन् ।

डी बक्सभित्र मोहम्मद सलाहलाई लडाएपछि भिडियो रीभ्यू माग्दा नदिएकाले उनको उक्त भनाई आएको हो ।

Scroll to Top