फिफा विश्वकपः मेसीको ह्याट्रिकले तोडियो रोनाल्डोको रेकर्ड

सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट किन संन्यास लिएनन् भन्ने प्रश्न गर्नेहरूका लागि उनले मैदानबाटै कडा जवाफ दिएका छन् ।

आफ्नो ३९ औँ जन्मदिन मनाउन ठीक एक साता बाँकी रहँदा मेसीले बुधबार बिहान फिफा विश्वकपको समूह ‘जे’ को पहिलो खेलमा अल्जेरियाविरुद्ध सानदार ह्याट्रिक गर्दै आफ्नो पुरानो लयलाई पुनः मैदानमा उतारे ।

यो प्रदर्शनसँगै उनले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको एउटा ठूलो कीर्तिमान समेत आफ्नो नाममा गरेका छन् । मेसी विश्वकप इतिहासमै ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी बनेका छन्, जुन रेकर्ड यसअघि रोनाल्डोको नाममा थियो ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा अर्जेन्टिनालाई ३–० को सानदार जित दिलाउने क्रममा मेसीले देशका लागि ऐतिहासिक २०० औँ खेल खेल्दै विश्वकप इतिहासमै आफ्नो पहिलो ह्याट्रिक पूरा गरे ।

यस ऐतिहासिक प्रदर्शनसँगै आठ पटकका ब्यालोन डी’ओर विजेता मेसीले विश्वकप इतिहासमा आफ्नो गोल सङ्ख्या १६ पुर्‍याउँदै जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको सर्वकालीन कीर्तिमान बराबरी गरेका छन् ।

अब मेसी विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा उक्लिएका छन् ।

चार वर्षअघि अर्जेन्टिनालाई विश्वको शिखरमा पुर्‍याएपछि पनि अन्तर्राष्ट्रिय फुटबल खेलिरहने मेसीको निर्णयमाथि धेरै चर्चा भएका थिए ।

तर, यस खेलले उनी यस पटकको विश्वकपमा केवल संख्या बढाउन मात्र नभई अर्जेन्टिनालाई चौथो पटक विश्वविजेता बनाउने दृढ संकल्पका साथ मैदान उत्रिएको प्रमाणित गरेको छ ।

विश्वकपको इतिहासमा साविक विजेताका रूपमा मैदान उत्रिँदा अर्जेन्टिनाले आफ्नो पहिलो खेल जितेको यो पहिलो पटक हो ।

यसअघि सन् १९८२ र १९९० मा डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्दा अर्जेन्टिना पहिलो खेलमै पराजित भएको थियो । त्यस्तै, मेसी विश्वकपका छ वटा फरक संस्करण खेल्ने विश्वकै पहिलो खेलाडी समेत बनेका छन् ।

खेलको १७ औँ मिनेटमा मेसीले इन्टर म्यामीका सहकर्मी रोड्रिगो डे पउलको पासमा २५ यार्ड टाढाबाट उत्कृष्ट कर्लिङ सटमार्फत अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

फ्रान्सेली फुटबल लेजेन्ड जिनेदिन जिदानका छोरा तथा अल्जेरियाका गोलरक्षक लुका जिदानले मेसीको उक्त प्रहारलाई रोक्न सकेनन् ।

खेलको ६० औँ मिनेटमा अलेक्सिस म्याक अलिस्टरको कडा प्रहारलाई गोलरक्षक जिदानले नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड भएको बललाई मेसीले आफ्नो दायाँ खुट्टाले पोस्टको दिशा दिँदै अग्रता दोब्बर बनाए ।

खेलको ७६ औँ मिनेटमा निकोलस गोन्जालेजको पासमा डिबक्सको किनाराबाट मेसीले शक्तिशाली सटमार्फत गोल गर्दै आफ्नो कीर्तिमानी ह्याट्रिक पूरा गरे ।

अब आगामी सोमबार अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा अस्ट्रियाको सामना गर्नेछ ।

क्लोजको कीर्तिमान बराबरी गरिसकेका मेसीले अस्ट्रियाविरुद्ध गोल गर्दै विश्वकप इतिहासकै एकल शीर्ष गोलकर्ता बन्ने पूर्ण सम्भावना रहेकाले आगामी सोमबार पुनः सम्पूर्ण फुटबल विश्वको नजर मेसीकै प्रदर्शनमा रहनेछ ।

Scroll to Top