पोखरा फिर्केखोला फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको चौथो दिन साना–ठूला गरी २३ वटा संरचना हटाइएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १८ र २ को सीमाना क्षेत्रमा ८ वटा संरचना हटाइएको छ भने वडा नम्बर ४ र ५ क्षेत्रमा १ वटा पक्की र ३ वटा कच्ची संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ ।
त्यस्तै वडा नम्बर ७ र ८ क्षेत्रमा ५ वटा कम्पाउन्ड वाल र ६ वटा स्थायी संरचना हटाइएको छ । चौथो दिनसम्म आइपुग्दा कुल १०५ वटा संरचना खोला घर क्षेत्रबाट हटाइएको जनाइएको छ ।
खोला घर खाली गर्ने कार्यमा ३ वटा जेसिबी र २ वटा एक्स्काभेटर प्रयोग गरिएको छ । अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल तथा प्राविधिक कर्मचारी खटिएका छन् ।
महानगरपालिकाले फिर्केखोलाको खोला घर खाली गरेपछि उक्त क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।
त्यसअन्तर्गत साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्द्धन तथा लाइटिङसहितको सुरक्षित पर्यटकीय क्षेत्रका रूपमा फिर्केखोलाको विकास गरिने जनाइएको छ ।







