सम्पूर्ण मुस्लिम समुदायमा बकर ईदको शुभकामना: – मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्लिम समुदायको महान् पर्व बकर ईद (ईद-उल-अजहा) २०८३ को पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरे ।

बिहीबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले त्याग, आस्था, निष्ठा, बलिदान, मानवता र भाइचाराको सन्देश बोकेको यस पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र सामाजिक एकतालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने बताए ।

उनले भनेका छन्, ‘विविध धर्म, संस्कृति, भाषा र परम्पराले समृद्ध हाम्रो समाजमा यस्ता पर्वले पारस्परिक सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउँदै आएका छन् ।’

विविधतामा एकता नेपालको मौलिक विशेषता भएको उल्लेख गर्दै पाण्डेले गण्डकी प्रदेश बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक सहअस्तित्वको उत्कृष्ट उदाहरणका रूपमा रहेको बताए ।

साझा सांस्कृतिक सम्पदा र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनले सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै पर्यटन विकास र आर्थिक समृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

यस पर्वले गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासी’ भन्ने संकल्पलाई साकार पार्न थप ऊर्जा प्रदान गर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले सबै नेपालीबीच आपसी सम्मान, सहयोग, सहकार्य र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सभ्य, समुन्नत र सुसंस्कृत समाज निर्माणमा लाग्न प्रेरणा मिलोस् भन्ने कामना गरे ।

Scroll to Top