खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अनुपयुक्त भएको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।
विभागले बजार अनुगमन क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएकाले उक्त उत्पादनमा रोक लगाएको हो ।
प्रयोगशालामा गरिएको परीक्षण क्रममा उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणुहरूको उपस्थिति मापदण्डभन्दा बढी भेटिएको छ ।
यस्ता ब्याक्टेरियाको उपस्थितिले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखिएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधान बमोजिम यो कदम चालिएको विभागले जनाएको छ ।
पोखरा औद्योगिक क्षेत्रमा रहेको उक्त डेरीबाट उत्पादित ब्याच नम्बर ‘सीओ २’ रहेको १ हजार मिलिलिटरको आइसक्रिम बजारबाट तुरुन्त फिर्ता गर्न आदेश दिइएको छ ।
उत्पादन मिति १९ साउन २०८२ उल्लेख भई १२ महिनासम्म उपभोग्य अवधि रहेको उक्त ब्याचका सबै आइसक्रिम खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ को उपदफा २ र ४ बमोजिम बिक्री वितरण नगर्न र नगराउन समेत विभागले सम्बन्धित उत्पादकलाई निर्देशन दिएको छ ।
विभागले उपभोक्ताहरूलाई समेत स्वास्थ्य जोखिम ध्यान दिँदै उक्त ब्याचको उत्पादन प्रयोग नगर्न सचेत गराएको छ ।







