बल्ल आइपुग्यो ‘मितिनी’ले पोखरालाई पठाएको उपहार

साढे ३ वर्षअघि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चीनको लिञ्जी पुगेका थिए । त्यसबखत लिञ्जी र पोखराबीच मितिनी साइनो लगाएर मेयर आचार्य फर्के ।

फर्कनेक्रममा मितिनी सहर लिञ्जीले पोखरालाई उपहारस्वरुप एम्बुलेन्ससहित अन्य सामग्री दिएर पठाएको थियो । उक्त सामान भने कानूनी जटिलताकाकारण रसुवा नाकामा थन्कियो ।

करिब साढे ३ करोड रुपैयाँ बराबरको सोही सामान हाल पोखरा आइपुेगेको मेयर आचार्यले जनाएका छन् ।

लिञ्जी नगर सरकारले पोखराका नागरिकको स्वास्थ्य सेवामा सहजता होस् भन्ने उद्देश्यले अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिण्डर तथा अक्सिजन इन्सिनेटर लगायतका सामग्री सहयोग गरेको थियो ।

चीनबाट प्राप्त एम्बुलेन्स र स्वास्थ्य उपकरण पोखरा महानगरपालिकाको परिसरमा आइपुग्दा यसले दुई सहरबीचको मितेरी सम्बन्धलाई अझ प्रगाढ बनाएको महानगरको ठम्याइ छ ।

‘आज यी सामग्री आइपुग्दा यो केवल उपकरणको आगमन मात्र रहेन, मित्रताको सम्मान, निरन्तर प्रयासको परिणाम र नागरिकप्रतिको दायित्व पूरा भएको अनुभूति पनि बनेको छ’, मेयर आचार्यले बताए ।

यस प्रक्रियामा सहयोग पुर्‍याउने नेपाल–चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे, भन्सार प्रमुख तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुप्रति महानगरले आभार व्यक्त गरेको छ ।

Scroll to Top