अब रहेन मालपोत कार्यालय कास्की !

 मालपोत कार्यालय कास्कीको नाम र कर्मचारीको पदनाम परिवर्तन भएको छ । सरकारले ल्याएको नयाँ अध्यादेशअनुसार उक्त कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय कास्की’ कायम गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभागको पत्रअनुसार कार्यालयको नाम र पदनाम परिवर्तन गरिएको हो ।

विसं २०८१ वैशाख २४ गते एक सूचना जारी गर्दै कार्यालयले यसबारे जानकारी दिए । वैशाख २० गते नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ बमोजिम मालपोत ऐन २०३४ र जग्गा (नाप जाँच) ऐन २०१९ मा संशोधन भएपछि यो व्यवस्था लागू भएको हो ।

परिवर्तित व्यवस्थाअनुसार यसअघि प्रचलनमा रहेको मालपोत कार्यालय कास्कीको नाम अब ‘भूमि प्रशासन कार्यालय कास्की’ भएको छ ।

नामसँगै कार्यालयका प्रमुख र अन्य कर्मचारीको पदनाम पनि फेरिएको छ । अबदेखि प्रमुख मालपोत अधिकृतलाई ‘प्रमुख भूमि प्रशासन अधिकृत’ र मालपोत अधिकृतलाई ‘भूमि प्रशासन अधिकृत’ भनिने कार्यालयले जनाएको छ ।

कार्यालयले सबै संघीय, प्रादेशिक र स्थानीय तहका कार्यालयहरूलाई पत्राचार गर्दै नयाँ नामअनुसार कामकाज गर्न अनुरोध गरे ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्था, सहकारी संघ संस्था र अन्य सबै सरोकारवालाहरूलाई पनि कार्यालयसँग सम्बन्धित कामकाज गर्दा परिवर्तित व्यवस्था र पदनाम बमोजिम नै गर्न आग्रह गरिएको छ ।

Scroll to Top