मेसु डा. पौडेलको तर्क -‘अस्पतालमा आइतबार बिदा र ९-५ को ड्युटी अव्यावहारिक’

 भरतपुर अस्पतालका पूर्व मेसु डाक्टर कृष्ण प्रसाद पौडेलले अस्पतालहरूमा आइतबार बिदा दिने र बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ड्युटी गर्ने सरकारी नियम व्यावहारिक नभएको बताए ।

उनले यस व्यवस्थाले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पर्ने भन्दै विभिन्न चारवटा तर्कहरू अघि सारे ।

डाक्टर पौडेलका अनुसार अस्पतालमा आइतबार बिदा दिँदा र ड्युटी समय परिवर्तन गर्दा ओपिडीमा आउने बिरामीहरू निजी अस्पताल (प्राइभेट) जान बाध्य हुनेछन् । यसले गर्दा सर्वसाधारणको उपचार खर्च बढ्ने उनले उल्लेख गरे ।

त्यसैगरी, ओपिडी सेवा प्रभावित हुँदा इमर्जेन्सीमा अनावश्यक चाप बढ्ने र बिरामीले समयमा उपचार नपाउने जोखिम रहने उनले बताए ।

उनले शल्यक्रियाको प्रतीक्षा सूची (वेटिङ लिस्ट) झन् लामो हुँदै जानेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । अस्पतालमा लामो समय ड्युटी गर्दा स्वास्थ्यकर्मीहरूमा शारीरिक र मानसिक थकान अर्थात् ‘बर्नआउट’ को समस्या देखिने उनले दाबी गरे ।

सरकारलाई सुझाव दिँदै उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई प्रशासनिक चस्माले मात्र नहेरियोस् ।’ अस्पतालको संवेदनशीलतालाई बुझेर मात्र नियमहरू लागू गर्नुपर्नेमा उनले जोड दिए ।


Scroll to Top