खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ को नोमिनेसन (मनोनयन) सार्वजनिक गरेको छ ।
मञ्चले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३-३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
जसअनुसार सर्वोत्कृष्ट पुरुष विधामा विज्ञान टि खत्री (जुडो), प्रदीप खड्का (टेनिस)र सञ्जु विक्रम शाह (भलिबल) नोमिनेसनमा परेका छन् ।
त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा मोनिका राना (आर्चरी), नारायणी भण्डारी (एथ्लेटिक्स) र मनिषा तामाङ (जुडो) नोमिनेसनमा परेका छन् ।
वर्ष उदीयमान खेलाडीमा अनुस्का अधिकारी (एथ्लेटिक्स), सचिन सुनार (तेक्वान्दो) र निभा राई (व्याडमिन्टन) नोमिनेसनमा परेका छन् ।
यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा कुमार अधिकारी (टेनिस), रेखमाया गुरुङ (तेक्वान्दो) र सिद्धान्त अधिकारी (एथ्लेटिक्स) नोमिनेसनमा परेको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले जानकारी दिए ।
मञ्चले यस वर्ष उत्कृष्ट खेल संघको अवार्ड कास्की जिल्ला क्रिकेट संघलाई प्रदान गर्ने जनाएको छ । क्रिकेट संघले पछिल्लो क्रममा मैदान सुधारदेखि प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिएको छ ।
यता, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड भने दीननाथ बराललाई प्रदान गरिने मञ्चले जनाएको छ ।
मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा यस वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने छ । लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्ड प्राप्त गर्ने व्यक्तिको नाम पछि सार्वजनिक गरिने मञ्चले जानकारी दियो ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधा तथा वर्ष पपुलर अवार्ड बिजेता खेलाडीलाई एक-एक थान स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५-३५ हजार प्रदान गर्ने मञ्चका महासचिव शर्माले जानकारी दिए ।







