काठमाण्डौंमा सुकुम्बासी भएका नगरवासीलाई मेयरले भनिन्ः -‘गाउँ फर्किनुहोस्, घर बनाइदिन्छौं’

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौँ लगायतका विभिन्न शहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ ।

संघीय सरकारले काठमाडौँ उपत्यका तथा विभिन्न जिल्लाका सुकुमवासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएका नगरवासीलाई आफ्नै ठाउँमा फर्किएर बसोवास गर्न चाहेको खण्डमा आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो गाउँ फर्किन इच्छुक तर, आफ्नो नाममा जग्गा भए पनि बसोवास गर्न आवास नभएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

‘संघीय सरकारले सुकुमवासी बस्तीसहित देशभरका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने अभियान चलाएको छ । संघीय सरकारको यो अभियानमा हाम्रो नगरपालिकाको पूर्ण समर्थन छ’, उनले भनिन्, ‘संघीय सरकारले संचालन गरेको सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने अभियानका क्रममा विस्थापित भएका नगरवासीलाई आफ्नो गाउँमा फर्किएर सम्मानपूर्वक जीवनयापन गर्न नगर आह्वान गरेका छौँ । आफ्नो ठाउँमा जग्गा भएको तर, बसोवास गर्न आवास नभएका परिवारलाई नगरपालिकाको तर्फबाट आवास निर्माणमा सहयोग गर्ने निर्णय गरिएको छ ।’

नगर कार्यपालिका बैठकले राजधानी काठमाडौँ लगायतका विभिन्न शहरका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन संघीय सरकारले चलाएको डोजरका कारण विस्थापित भएका नगरवासीको लगत संकलन गर्न नगर उपप्रमुख रमेशकुमार राउतको नेतृत्वमा समितिसमेत गठन गरेको छ ।

नगरपालिकाले गठन गरेको लगत संकलन समितिले सूचना जारी गरेर आवेदन आव्हान गरेको समयमा आफ्नो ठाउँमा फर्किएर बसोवास गर्न चाहेको खण्डमा पहिचान गरेर उनीहरुलाई स्थायी बसोवासका लागि आवास निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने निर्णय गरेको हो ।


Scroll to Top