राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआइडिएमआईएस)मा प्राविधिक समस्या आएपछि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू आंशिक रूपमा अवरुद्ध भएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै गत वैशाख २१ गतेदेखि प्रणालीमा समस्या आएको जनाएको छ ।
विभागका अनुसार प्रणालीमा आएको प्राविधिक समस्याको मर्मत कार्य जारी रहेको छ । सो कार्य पूरा नभएसम्म नयाँ ईनरोल गर्दा आउने राष्ट्रिय परिचयपत्र नम्बर (एनआइएन)लाई प्रणालीले भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएको विभागले बताएको छ ।
मर्मतको काम सम्पन्न हुनासाथ सेवा प्रवाह सुचारु हुने जानकारी दिँदै विभागले यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
विभागले अवरुद्ध हुने सेवाहरूको सूची समेत सार्वजनिक गरेको छ । जसअनुसार राष्ट्रिय परिचयपत्रहरूको विवरण सच्याउने सेवा र जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचयपत्र नम्बर अर्थात् एनआइएन जेनेरेट हुने सेवा अवरुद्ध भएका छन् ।
त्यसैगरी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुने सेवा र एनआइडिएमआईएस प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू पनि आंशिक रूपमा प्रभावित भएका छन् ।
यद्यपि, राष्ट्रिय परिचयपत्र प्राप्त गरी प्रणालीबाट पहिले नै भ्यालिडेट भइसकेकाहरूको हकमा भने परिचयपत्रसँग आबद्ध सेवाहरू सुचारु नै रहेको विभागले स्पष्ट पारेको छ ।







