प्रदेश अस्पताल, म्याग्दीमा कार्यरत डा. हेमन्त बाँस्तोलाले केही दिनअघि १४ वर्षमुनिकी किशोरीको सफल प्रसूति गराएको र अहिले आमा एवं बच्चा दुबै सुरक्षित रहेको जनाएका छन् ।
डा. बरालले यसलाई ‘डर, खुसी’ र ‘गम्भीर सामाजिक प्रश्न’ भनि उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस क्षणलाई यसरी सम्झेका छन्ः
४ वर्ष ग्रामीण नेपालमा काम गर्दा हजारौं आमा र नवजात शिशुको जीवन बचाउने अवसर पाएँ। मातृ तथा शिशु स्वास्थ्य सेवामा काम गर्दै धेरै चुनौतीपूर्ण अनुभवहरू भोगिए, तर केही घटनाले चिकित्सक मात्र होइन, एक नागरिकको रूपमा पनि गहिरो सोच्न बाध्य बनाउँछन्।
पछिल्लो ५ महिनादेखि म्याग्दीमा कार्यरत रहँदै मातृ, नवजात तथा बाल स्वास्थ्य सेवामा समर्पित छु। केही दिनअघि अत्यन्त कम उमेरकी, १४ वर्ष मुनिकी एक किशोरी पूर्ण अवधिको गर्भ लिएर अस्पताल आइन्।
अवस्था निकै संवेदनशील र उच्च जोखिमयुक्त थियो—यसले आमा र बच्चा दुवैको ज्यान लिन सक्ने सम्भावना थियो। मनमा अनेक प्रश्न थिए—के सामान्य प्रसूति सम्भव होला ? तर उमेर बाहेक तत्काल शल्यक्रियाको स्पष्ट संकेत थिएन।
डर, जिम्मेवारी र चिकित्सकीय निर्णयबीच हाम्रो टोलीले अत्यन्त नजिकबाट निगरानी गर्दै सामान्य प्रसूतिको योजना अघि बढायो। रातभरको संघर्ष, निरन्तर मूल्यांकन र प्रसव पीडापछि अन्ततः २.७ केजी तौलकी स्वस्थ छोरी सुरक्षितरूपमा नर्मल डेलिभरीबाट जन्मिइन्।
आज आमा र बच्चा दुवै सुरक्षित रूपमा डिस्चार्ज भएका छन्।
यस सफलताका लागि सम्पूर्ण अस्पतालका स्वास्थ्यकर्मी प्रति हार्दिक धन्यवाद—तपाईंहरूको समर्पण, सहकार्य र सतर्कताले नै यो सम्भव बनायो।
साथै, ईश्वरप्रति कृतज्ञ छु—आमा र शिशु दुवैको ज्यान जोगाउन सफल भयौं।
यो अनुभव मेरो लागि “डर र खुसी” थियो—एकातिर दुई जीवन सुरक्षित भएको सन्तोष, अर्कोतिर मनभित्र उठेका गम्भीर प्रश्नहरू:
हामी अझै किन यति कम उमेरमा गर्भधारण र प्रसूतिका घटना देखिरहेका छौं ?
हाम्रो स्वास्थ्य शिक्षा, सामाजिक सचेतना, किशोर स्वास्थ्य सेवा र परिवारको भूमिका कहाँ कमजोर भइरहेको छ ?
हामी अस्पतालमा जीवन बचाइरहेका छौं, तर अब समाजले कारणहरू रोक्ने जिम्मेवारी पनि लिनुपर्छ।







