कास्कीको सेवा: गीता र तारालाई सीडीओले घरमै लगिदिइन् राहदानी

कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरु भएको छ।

हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पुर्‍याउँदै यसको औपचारिक शुभारम्भ भएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीको अग्रसरता र अन्नपूर्ण गाउँपालिका र हुलाक निर्देशनालय कास्कीको सहकार्यमा सेवाको सुरुवातसँगै अन्नपूर्ण गाउँपालिका–१, लेवाडे निवासी गीता अधिकारी र वडा नं. २, ढिकुरपोखरी निवासी श्री तारा ढुंगाना भण्डारीलाई उनीहरूकै निवासमै राहदानी हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्त रूपमा राहदानी हस्तान्तरण गरेका छन्।

सो अवसरमा प्रमुख जिल्ला अधिकारीले अन्नपूर्ण गाउँपालिका हुलाक सेवा केन्द्रको अनुगमन समेत गरे।

साथै गाउँपालिका अध्यक्षसँग भएको भेटमा समसामयिक विषयवस्तुहरू तथा नागरिकलाई सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने विषयमा आवश्यक छलफल गरिएको थियो।

अन्नपूर्ण गाउँपालिकाले यस सेवाबाट नागरिकलाई सहज, छिटो तथा झन्झटरहित सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता सेवाहरूलाई थप विस्तार गर्दै लैजान सरकारका विभिन्न निकायहरूसँग समन्वय र सहकार्य जारी राख्ने जनाएको छ।

Scroll to Top