कास्की जिल्लामा लागू औषध बिक्री वितरण, सेवन, समाजमा अशान्ति फैलाउने र टोले गुन्डागर्दी नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले चलाएको ‘स्वीप अप्रेसन’ बिहीबार रातपनि सक्रिय सह्यो ।
उक्त अपरेशनका क्रममा थप ६१ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयले वैशाख १० गते रातिदेखि ११ गते बिहानसम्म विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
प्रहरीका अनुसार वैशाख १० गते साँझ ९बजेदेखि वैशाख ११ गते बिहान ६ बजेसम्म कास्कीका विभिन्न वडा र क्षेत्रहरूमा यो अभियान संचालन गरिएको थियो। लागू औषध कारोबारमा संलग्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र रातको समयमा शंकास्पद रूपमा हिँडडुल गर्नेहरूलाई लक्षित गरी प्रहरी टोली परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसंधान र कारबाही प्रक्रिया अगाडि बढाइएको बताए। उनले पोखरा महानगरपालिकाका विभिन्न वडा र टोलहरूबाट ६१ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।
प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर २ र ४ को मोहरियाटोल तथा गैह्रापाटनबाट १४ जना पक्राउ परेका छन्। त्यस्तै वडा नम्बर ६ को लेकसाइड र ड्यामसाइडबाट २४ जना, वडा नम्बर ८ र ९ को बगाले टोल, सभागृह चोक, शिवालय चोक र पृथ्वीचोकबाट ८ जनालाई नियन्त्रणमा लिइएको छ।
वडा नम्बर १३ र १५ को काँहुडाँडा, काँहुखोला र रामबजार क्षेत्रबाट २ जना, वडा नम्बर १८ र २० को सराङकोट, लामागाउँ र भलाम क्षेत्रबाट ४ जना तथा वडा नम्बर २६, २७, २९ र ३० को सुन्दरबजार, रिठेपानी, सैनिक बस्ती, खुदीखोला र साहुको खोर क्षेत्रबाट ९ जना पक्राउ परेका छन्।
यसअघि वैशाख १० गते पक्राउ परेका १२२ जनाको बारेमा पनि प्रहरीले पछिल्लो अवस्था सार्वजनिक गरेको छ। जसमध्ये ८ जनालाई लागू औषध संबन्धी कसूरमा र २७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा म्याद थप गरी अनुसंधान प्रक्रिया अगाडि बढाइएको छ।
त्यसैगरी १५ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले जरिवाना गरेर छाडेको छ भने ७० जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको छ। बाँकी २ जनालाई भने अहिले होल्डमा राखिएको सूचना अधिकारी पाण्डेले जानकारी दिए।





