बुधबार रातभर जिल्ला प्रहरीको कार्यालयको कमाण्डमा पोखराका विभिन्न स्थानमा ‘स्वीप अपरेशन’ चलाउँदा १ सय बढीलाई नियन्त्रणमा लिइएको छ ।
कास्की प्रहरीको संयोजनमा वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार, वडा प्रहरी कार्यालय बगर, इलाका प्रहरी कार्यालय शिशुवाको जनशक्ति एकसाथ एक्सनमा आएको यो पहिलो पटक हो ।
उक्त एक्सनबाट १ सय २२ जनालाई नियन्त्रणमा लिइएको जिप्रका कास्कीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् । जसमध्ये केहीलाई सोधपुछपछि आवश्यक पर्दा पुनः हाजिर हुने शर्तमा छाडिएको छ ।
प्रहरीले काहुँडाँडा, लेकसाइडदेखि दोबिल्लासम्म रातभर सर्च अपरेशन चलाएको बताउँदै निरीक्षक पाण्डेले स्थानीयको गुनासो र प्रहरीकै सूचनाकाआधारमा थप सक्रिय भएको बताए ।
पाण्डेका अनुसार पक्राउ पर्नेमा लागूऔषध ओसारपसार, दूव्र्यसनी, टोले गुण्डा र लेकसाइड क्षेत्रमा यौन गतिविधिमा संलग्न महिलालगायत रहेका छन् ।
शान्ति, सुरक्षा र अमनचयनका लागि निरन्तर खटिइरहेको प्रहरीले रातभर सम्पूर्ण शक्ति लगाएर अपरेशन गरेको पहिलोपटक हो ।







