मध्यरात लेकसाइडमा पर्यटकलाई सताउने थप ३ महिला पक्राउ

कास्कीको पर्यटकीय क्षेत्र लेकसाइडमा रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक दुःख र हैरानी दिने थप तीन जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले वैशाख ८ गते बिहान अन्दाजी २:३० बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड क्षेत्रमा रातिको समयमा पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलाप गर्ने कार्यमा संलग्न रहेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा विभिन्न महिलाहरूले पर्यटकलाई दुःख दिएको भन्ने अत्यधिक जनगुनासो आएपछि प्रहरीले सक्रियता बढाएको थियो । पक्राउ परेका तीनै जना महिलामाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार लेकसाइडको सुरक्षा र पर्यटकको सहजताका लागि प्रहरीले निगरानी कडा पारेको छ । यसअघि पनि प्रहरीले सोही प्रकृतिका कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको थियो ।

तस्बिरः एआई

Scroll to Top